पर्वत, भदौ १९ । सार्वजनिक स्थानमा झै – झगडा तथा कुटपिट गरी अशान्ति मच्चाउने कार्यमा संलग्न रहेको अभियोगमा १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । कुश्मा नगरपालिका ५ यान्त्रिक चोकबाट १७ भदौको बेलुका प्रहरीले पक्राउ गरेको हो ।
उक्त चोकस्थित सार्वजनिक स्थानमा दुई समूहका युवाहरुबीच एकआपसमा झै – झगडा तथा कुटपिट भइरहेको र स्थानीय ब्यक्तिहरु आतङकित भई अशान्ति भइरहेको भन्ने खबर पश्चात जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले तत्काल स्थितिलाई नियन्त्रणमा लिई घटनामा संलग्न उनीहरुलाई पक्राउ गरेको थियो ।
घटनामा संलग्नमध्ये घाइते भएका दुई जनालाई उपचारको लागि पर्वत जिल्ला अस्पतालमा लगिएकोमा सामान्य उपचार पश्चात दुवै जना डिस्चार्ज भएका छन् ।
पक्राउ परेकाहरुलाई सार्वजनिक शान्ति विरुद्दको कसुर अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।