Logo

वीरगञ्जमा १५ वर्षीया युवतीमाथि एसिड प्रहार



युवतीलाई एसिड प्रहार

पर्सा, २० भदौ । वीरगञ्जको गणेशमानचौकमा आज बिहान १५ वर्षीया एक युवतीलाई एसिड खन्याइ घाइते बनाइएको छ । विद्यालय जाने क्रममा वीरगञ्ज महानगरपालिका–३ छपकैया निवासी मुस्कान खातुनमाथि दुई जनाको सङ्ख्यामा रहेका युवकले तेजाब प्रहार गरेका हुन् ।

तेजाब प्रहारबाट घाइते भएकी खातुनलाई वीरगञ्जको नारायणी अस्पतालमा उपचार भइरहेको छ । तेजाबबाट खातुनको अनुहार, छाती, हातखुट्टालगायतका शरीरको भाग जलेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । खातुनको स्वास्थ्य अवस्था गम्भीर रहेको पनि चिकित्सकले बताएका छन् ।

मुस्कानमाथि तेजाब खन्याएको अभियोगमा वीरगञ्ज महानगरपालिका–२ छपकैया निवासी १६ वर्षीय सम्साद मियाँलाई प्रहरीले पक्राउ गरेको छ । बिहान ६ बजे विद्यालय जानलागेकी युवतीमाथि सम्सादले तेजाब खन्याएको प्रत्यक्षदर्शी र पीडितले दिएको बयानका आधारमा पक्राउ उनलाई गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए ।

उहाँले युवतीमाथि तेजाब खन्याउने कार्यमा सहयोग गर्ने वीरगञ्ज–२ छपकैया निवासी मजिद आलमको खोजी भइरहेको बताए । वीरगञ्जको रामटोलमा अवस्थित त्रिभुवन हनुमान माध्यमिक विद्यलायको कक्षा १० मा मुस्कान अध्ययनरत रहेकी छन् । रासस



प्रतिक्रिया दिनुहोस्