काठमाडौं, भदौ २२ । संघीय संसदको प्रतिनिधिसभाको बैठकमा किशोरीमाथि एसिड आक्रमणका घटना बढ्दै गएको अवस्थमा कडा कदम चाल्न संसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको बैठकमा सांसद जुली कुमारी महतोले एसिड आक्रमणका घटना नियन्त्रण गरि महिलाको सुरक्षाका लागि कडा कानुन बनाउन सरकारको ध्यानाकर्षण गराएकी छिन् ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाकी १५ वर्षीया मुस्कान खातुनमाथि २० भदौको बिहान विद्यालय जादै गर्दा एसिड आक्रमण भएको थियो । उनको अहिले काठमाडौंको किर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । सांसद महतोले महिलाको सुरक्षाका लागि थप संवेदनशील बन्दै दोषीलाई पक्राउ गरि कडा कारवाही गर्न पनि माग गरेकी छिन् ।
उनले ‘महिलाको सुरक्षाको लागि कडा कानुन ल्याउन आवश्यक भएको छ । प्रदेश २ मा छोरीमाथि एसिड आक्रमणका घटना धेरै पटक भएको हँदा यसलाई रोक्न कडा कदम चाल्नुपर्ने जरुरी छ । प्रदेश २ को सरकारले बेटी पढाउ बेटी जोगाउ अभियान जोडतोडले लागू गरेको छ । बेटी नै बाँचेनन् भने वेटी जोगाउ अभियानको औचित्य नभएको बताइन ।’
त्यसैगरी सांसदहरुले एसिड आक्रमणबाट घाइते भएकी मुस्कान खातुनको निशुल्क उपचारको व्यवस्था गरी दोषीलाई कडा कारवाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
सांसद नरमाया ढकालले एसिड आक्रमणको घटनाको भत्र्सना गर्दै दोषीलाई नियन्त्रणमा लिई तत्काल कडा भन्दा कडा कानुनी कारवाहीको माग गरिन् ।
सांसद पार्वता डिसी चौधरी खातुनको सम्पुर्ण उपचार खर्च सरकारले व्यहोर्नुपर्ने र दोषीलाई कडा कारवाही गर्नुपर्ने मागका साथ सरकारको ध्यानाकर्षण गराएकी छिन् । उनले यस्तो जघन्य अपराध गर्नेका लागि देशको कानुनु फितलो भएको हुँदा घटना बढ्दै गएकोले कानूनलाई दरिलो वनाउनको लागि सरकारको ध्यानाकर्षण गराएकी छिन् ।
संसद पुष्पकुमारी कर्ण कायस्तले कानून संसोधन गरी अपराधीलाई मृत्यू दण्ड दिनुपर्ने कुरामा जोड दिएकी छिन् ।