काठमाण्डौ, भदौ २३ । काठमाण्डौका सडकमा आजदेखि बिद्युतीय बस गुड्ने भएका छन् । सुन्दर यातायातले पाँचवटा रुटमा आजबाट उक्त सेवा शुरु गर्ने भएको हो ।
४० सिट क्षमता र ३५ सिट क्षमता भएका उक्त बसहरु पहिलो रुटमा चक्रपथ परिक्रमा, दोस्रो रुटमा नारायणथान – जावलाखेल–मेडिसिटी अस्पताल, तेस्रो रुटमा गोगंबु–सामाखुसी–गौशला–कोटेश्वर हुँदै भक्तपुरको सल्लाघारीसम्म, चौथो रुटमा ढुंगेअड्डा–कलंकी–त्रिपुरेश्वर–वीरअस्पताल–जमल–कृष्णपाउरोटी–रातोपुल–गौशला–चाबहिल–बौद्ध–जोरपाटी हुँदै अत्तरखेलसम्म र पाँचौं रुट भक्तपुरको सूर्यविनायक–कोटेश्वर–बानेश्वर–वीरअस्पताल र जमलमा बिजुली बस चल्ने कम्पनीले जनाएको छ ।
सार्वजनिक हुन लागेकोे बसहरुमा सिसि क्यामेरा, जिपिएस सिस्टम लगाएतका प्रबिधि जडान गरिएको कम्पनीले जनाएको छ । बसमा रहेको प्रविधिको बारेमा आज एक कार्यक्रमको आयोजना गरि सञ्चालक समुहले सबैमा जानकारी गराउने जनाएको छ ।
केहि दिन पहिलेमात्रै कम्पनीले विद्युतिय चार्जिङ स्टेसनको उद्घाटन गरेको थियो । यात्रुले इ–पेमेन्टको माध्यमबाट पनि भाडा तिर्न सक्ने भन्दै कार्डको प्रयोगलाई विशेष प्राथमिक्ता दिएको जनाएको छ ।