काठमाण्डौ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकामा सडक लाईटको व्यवस्थापन गर्ने योजना अघि सारेको छ ।
महाशाखाका नवनियुक्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले काठमाडौं उपत्यकाको सडकको लाईट व्यवस्थापनको कामलाई आफूले उच्च प्राथमिकता दिने बताएका हुन् । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले सडक व्यवस्थापनका लागि प्रविधियुक्त ट्राफिक व्यवस्थापनमा आफ्नो मुख्य जोड रहने कार्ययोजना पनि सार्वजनिक गरेका हुन् ।
नवनियुक्त प्रमुख ढकालले काठमाडौं उपत्यकाको सडक व्यवस्थापनका लागि स्मार्ट ट्राफिक पुलिसको अवधारणा पनि अघि सारे । जिम्मेवार, अनुशासित ट्राफिक प्रहरीको व्यवस्थापन गरी सडकको ट्राफिक व्यवस्थापनको कामलाई अझ बढि प्रभावकारी बनाउने उनको भनाई छ ।
प्रमुख ढकालले ट्राफिक व्यवस्थापन सम्बन्धि कानुन कार्यान्वयनमा पनि कडाई गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
पत्रकार सम्मेलनमा महाशाखाले चोरी भएका १८ वटा मोटरसाईकल नियन्त्रणमा लिई सवारी धनीलाई बुझाएको जानकारी दिएको थियो । मोटरसाईकल चोरीमा संलग्न काठमाडौं नागार्जुनका २६ वर्षीय प्रदिप खड्गी, सोही ठाउँका २५ वर्षीय रोशन खड्कालाई पनि पक्राउ गरिएको महाशाखाका प्रमुख ढकालले जानकारी दिनु भयो । त्यसैगरी मोटरसाईकल चोरीमा संलग्न चितवनको २० वर्षीय अञ्जन विश्वकर्मालाई पनि काठमाडौंको सितापाईलाबाट पक्राउ गरिएको छ ।