काठमाडौं, २४ भदौ । एसीसी यू–१९ एसिया कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले यूएईमाथि १६० रनको फराकिलो जित निकालेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ९ विकेट गुमाउँदै २८५ रन बनाएको थियो । जवाफमा यूएईले ३४.४ ओभरमा सबै विकेट गुमाउँदै १२५ रन मात्र बनाउन सक्यो । नेपालका लागि कप्तान रोहित पौडेलले ६७ रन बनाए । उनले ८३ बलमा ८ चौका र १ छक्का हिर्काए ।
सुरुवाती दुई ब्याट्स्म्यान शून्य रनमै गुमाएको नेपालले त्यसपछि सम्हालिएर खेलेको थियो । ओपनर रित गौतम पहिलो बलमै आकाश ताहिरको बलमा क्याच आउट भएका थिए । त्यस्तै पवन सर्राफले ११ बलको सामना गर्दा रन नबनाई पेभिलियन फर्किए ।तेस्रो र नम्बरमा आएका आसिफ शेख र कप्तान रोहित पौडेलले नेपालको इनिङ उकासेका थिए ।
कप्तान रोहितसँग ८६ रनको साझेदारी गरेका सन्दीप जोराले विष्फोटक ब्याटिङ गर्दै ४८ रन जोडे । त्यस्तै रसिद खानले ४४, कमलसिंह ऐरीले ४१ र कुशल मल्लले २२ रन जोडे । २८६ रनको विजय लक्ष्य पछ्याएको यूएईले सुरुवातमा सुस्त ब्याटिङ गरेको थियो । ओपनरद्वय सयद हाइदर र निल लोबो सस्तैमा समेटिए पनि तेस्रो नम्बरमा आएका भ्रित्य अरविन्दले आक्रामक ब्याटिङ गर्दै आफ्नो टिमलाई आशा जगाएका थिए । उनले ३४ बलको सामना गर्दै २८ रन जोडे ।