Logo

आजदेखि सातौँ संस्करणको फर्निचर तथा फर्नि्सिङ एक्सपो सुरु (फोटोफिचर)



काठमाडौं, २५ भदौ । मुलुकमा फर्निचर तथा फर्नि्सिङ क्षेत्रले करीब रु १० अर्बको वार्षिक कारोवार गर्ने गरेको छ । नेपाल फर्निचर तथा फर्नि्सिङ सङ्घले आजदेखि भृकुटीमण्डपमा सञ्चालन गरेको सातौँ संस्करणको फर्निचर तथा फर्नि्सिङ एक्सपोमा उक्त कारोवारकाबारे जानकारी दिइएको हो ।

उपराष्ट्रपति नन्दकिशोर पुनले उद्घाटन गरेको एक्सपोमा फर्निचर तथा फर्नि्सिङका साथै कार्पेट, भान्छा, श्यया, स्नानकक्ष, इण्टेरियर डिजाइनरलगायत सामग्रीका १२० बिक्री कक्ष राखिएको छ ।

उक्त अवसरमा उपराष्ट्रपति पुनले सङ्घद्वारा प्रकाशित स्मारिका विमोचन गरेका थिए । यही भदौ २९ गतेसम्म एक्सपो जारी रहनेछ । नेपाल चेम्बर्स अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले मुलुकको समृद्धिका लागि सरकारले निजी क्षेत्रलाई विश्वासमा लिएर आर्थिक नीति निर्माण गर्नुपर्ने विचार व्यक्त गरे ।

नेपाल उद्योग वाणिज्य महासङ्घका प्रतिनिधि हेमराज ढकालले व्यापारको आकार वृद्धि गरेर समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेर मात्र कर बढाउनुपर्नेमा जोड दिएका छन् ।

नेपाल फर्निचर तथा फर्नि्सिङ महासङ्घका अध्यक्ष भूपेन्द्र गिरीले मुलुकमा भएको वनलाई व्यावसायिक ढङ्गले उपयोग गर्न नसकिएकाले फर्निचर तथा फर्नि्सिङ व्यवसायलाई आत्मनिर्भर बनाउन नसकिएको बताए ।

नेपाल फर्निचर तथा फर्नि्सिङ सङ्घका अध्यक्ष रुपेश प्रधानले स्वदेशी उत्पादनले समग्र कारोवारको करीब ५० देखि ६० प्रतिशत प्रतिस्थापन गर्ने गरेको बताउँदै यस क्षेत्रमा प्रयोग हुने काठका उत्पादन स्वदेशमा गर्न सकेमा बाहिरबाट आयात गर्नुपर्ने बाध्यता अन्त्य हुने बताए । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्