काठमाडौं ३१ भाद्र । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले एनसेल प्रकरणलाई महाअभियोग लगाएर भएरपनि जनताले कर तिरेको अरबौं रुपैया तिर्न लगाउने प्रतिवद्धता व्यक्त गरेका छन ।
राप्रपा न्यायिक समितिले आयोजना गरेको एनसेल प्रकरणसम्बन्धी अन्तक्र्रियालाई सम्बोधन गर्दै अध्यक्ष थापाले एनसेल प्रकरणलाई सदनदेखि सडकसम्म सशक्त ढङ्गले आवाज बुलन्द पार्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
उनले भने–संसदमा माननीय राजेन्द्र लिङ्देनले आवाज बुलन्द पार्नुहुन्छ, पार्टीको तर्फबाट भ्रष्टाचार विरुद्ध लागेका सबै अभियन्ताहरुसँग एककृत भएर राष्ट्रहित विपरित लाग्ने, संविधान विपरित काम गर्ने, लोकतन्त्रको नाममा भ्रष्टाचारमा लिप्त हुने जो सुकै विरुद्ध सडकदेखि सदनसम्म तताउनेछौं ।
अन्तक्रिया कार्यक्रममा पूर्व सचिव डा. द्वारिकानाथ ढुङ्गेल, डा. सुरेन्द्र भण्डारी र सुकदेव खत्रीले एनसेल प्रकरणको फेहरिस्त प्रस्तुत गरेका थिए ।
तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम