Logo

२३ वर्षपछि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण



काठमाण्डौ । करिव २३ बर्षपछि चीनबाट नेपालको उच्चस्तरीय भ्रमण हुने भएको छ । लामो कसरतपछि चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल आउने मिति तय भएको हो । असोज अन्तिम साता चिनियां राष्ट्रपति सिको भ्रमणपछि नेपाल र चीनबीचको कुटनीतिक सम्बन्धमा उल्लेख्य सुधारसँगै निकै महत्वपुर्ण सम्झौता समेत हुने अपेक्षा गरिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक निमन्त्रणामा चिनियाँ राष्ट्रपति सी २७ असोजमा काठमाडौं आउने तय भएको छ । राष्ट्रपति सी भारत हुँदै नेपाल आउने कार्यतालिका छ ।

उनी २३ वर्ष यता नेपाल भ्रमण गर्ने सी पहिलो चिनियाँ राष्ट्रपति हुनेछन् । परराष्ट्र मन्त्रालयले चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण हुने बताएपनि भ्रमण मिति भने औपचारिक रुपमा सार्वजनिक गरिसकेको छैन ।

दुई पक्षीय समझदारीमा दुवै देशले एकैपटक भ्रमण मिति सार्वजनिक गर्ने कूटनीतिक परम्पराका कारण एक पक्षीय रुपमा भ्रमण मिति सार्वजनिक नगरेको परराष्ट्र स्रोतले जनाएको छ ।

सीको भ्रमण तयारीकै रुपमा चिनियाँ विदेशमन्त्री वाङ यी २२ भदौमा तीन दिने नेपाल भ्रमणमा आएका थिए । विगतमा पनि चिनियां राष्ट्रपति सि नेपाल भ्रमण गर्ने कुराले धेरै चर्चा पाएपछि अन्तिममा आएर स्थगित भएको थियो ।

राष्ट्रपति सीको सुरक्षामा जिम्मेवार ‘केन्द्रीय सुरक्षा ब्यूरो’ का तीन सदस्य सम्मिलित टोलीले काठमाडौंको सुरक्षा व्यवस्थाको मूल्यांकन पनि गरिसकेकोले यो पटक चिनियां राष्ट्रपति सि को भ्रमण पक्का भएको दावी परराष्ट्र मन्त्रालयको छ ।

लामो समयपछि चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणले नेपाल र चीनविचको संबन्धमा मात्र महत्वपुर्ण सम्झौता समेत हुने भएकोले पनि भ्रमण निकै फलदायी हुने विज्ञहरु बताउंछन् । सो समयमा नेपालका तर्फबाट स्पष्ट रुपमा आफ्नो कुरा उठाउनुपर्ने चीनका लागीं पुर्व नेपाली राजदुत महेश मास्के बताउँछन् ।

उच्च स्रोतका अनुसार सीको भ्रमणका क्रममा छुट्टाछुट्टै सातवटा विषयमा सम्झौता हुने छ । केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्नेबारे दुई देशबीच सम्झौता हुने, केरुङ–काठमाडौं सुरूङमार्ग सहितको सडक निर्माणबारे सम्झौता हुने छ ।

यससँगै केरूङ–काठमाडौं जोड्ने झोरेदेखि जोरभन्ज्याङ हुँदै नुवाकोट निस्किने सुरूङमार्ग सहितको सडक बनाउने, लगायतका विभिन्न ७ वटा महत्वपुर्ण सम्झौता हुने तयारी छ । यस्तै चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओको शनिबारबाट सुरु नेपाल भ्रमणलाई पनि राष्ट्रपति सीको नेपाल भ्रमणको तयारीकै रुपमा हेरिएको छ ।

सन् १९९६ मा तत्कालिन चिनियाँ राष्ट्रपति जियान जेमिङले नेपाल भ्रमण गरे यता चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमण गरेका छैनन् । २०१६ मा हुने भनिएको सीको नेपाल भ्रमण स्थगित भएपश्चात् बनेका सबै सरकारले चिनियाँ राष्ट्रपतिलाई नेपाल ल्याउने प्रयास गरे पनि चीनले उपर्युक्त समयमा नेपाल भ्रमण गर्ने बताउँदै आएको थियो ।



प्रतिक्रिया दिनुहोस्