काठमाण्डौ । सरकारले मोरङ जिल्ला प्रशासन कार्यालयबाट जारी भएको शम्भुप्रसाद मण्डलको नेपाली नागरिकताको प्रमाणपत्र रद्द गरेको छ ।
सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता गोकुल बास्कोटाले मंगलबारको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन् । त्यस्तै सरकारले चितवनको भरतपुर महागरपालिका वडा नं. १६ को वडाध्यक्षको रिक्त पदपूर्तिका लागि मंसिर १४ गते शनिबार उपनिर्वाचन गर्ने निर्णय गरेको छ ।
त्यस्तै पूर्व राष्ट्रपति डा. रामवरण यादवलाई भारतको चण्डीगढस्थित अस्पतालमा उपचार गराउँदा लागेको उपचार खर्च दिने निर्णय गरेको छ । एसिड आक्रमणका घाइते जेनी खड्का र मुस्कान खातुनको उपचार खर्चका लागि जनही तीन लाख रुपैयाँ दिने बास्कोटाले जानकारी दिए ।
यो हप्ता बसेको मन्त्रीपरिषद बैठकले नेपाल ट्रस्ट (पहिलो संशोधन) नियमावली, २०७६ स्वीकृत गरिएको छ । नेपाली नागरिकहरू नारायणप्रसाद अर्जल र महासेनानी रामजी थापालाई विदेशी मुलुकबाट पदक ग्रहण गर्न स्वीकृति दिइएको छ ।
त्यसैगरी प्रहरी अतिरिक्त महानिरीक्षकको सरुवा गर्ने निर्णय पनि गरिएको जानकारी दिइएको छ । नेपाल सरकार र अष्ट्रेलिया सरकारबीच हवाई सेवा सम्झौतामा प्रारम्भिक हस्ताक्षर गर्ने निर्णय गरिएको छ । सरकारले सूचनाको हक कार्यान्वयन सम्बन्धी अनुगमन निर्देशिका, २०७५ स्वीकृत गरिएको छ ।