Logo

’द्वन्द्वपीडितलाई जतिसक्दो चाँडो न्याय दिलाउँछौँ : प्रचण्ड



काठमाडौं, ९ असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विस्तृत शान्ति सम्झौतासँग जोडिएका बेपत्ता पारिएको व्यक्तिहरुको सम्बन्धमा जतिसक्दो चाँडो टुङ्गोमा पु¥याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

राष्ट्रिय मानवअधिकार अधिकार आयोगद्वारा काठमाडौंमा बिहीबार आयोजित ‘सङ्क्रमणकालीन न्यायको विकास अन्तरसंवाद’ मा पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले बेपत्ता पारिएका व्यक्तिका परिवारको न्यायका लागि सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन गर्न बनेको आयोगलाई पूर्णता दिनेबारेमा दलहरुबीच छलफल भइरहेको जानकारी दिए ।

अध्यक्ष प्रचण्डले भने, “यो प्रक्रियालाई टुङ्ग्याउनु नै राष्ट्रको हितमा छ, राजनीतिक दलको पनि हितमा छ । जनता र पीडितको हितमा छ भन्ने बुझाइ गुणात्मक रुपमा गहिरो भएको छ । यो एउटा हामी सबैका लागि यो अवसरलाई हामीले गुम्न दिनु हुँदैन । त्यसैले अहिले ऐन संशोधन र आयोगलाई पूर्णता गर्ने विषय समानान्तर रुपमा अगाडि बढिरहेको छ ।”

सङ्क्रमणकालीन न्यायका विषय टुङ्ग्याउन ढिला भएको उल्लेख गर्दै उनले राजनीतिक नेतृत्व र दलहरुकै कारण यो अहिलेसम्म लम्बिएको स्वीकार गरे । अध्यक्ष दाहालले राजनीतिक दलका नेताहरुले एकअर्कालाई दोषी देखाउनुको सट्टा एकापसमा समन्वय गरेर अगाडि बढ्नुपर्ने बताए।

नेपाली काङ्ग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सङ्क्रमणकालीन न्यायको विषयलाई सरकारले गम्भीरतापूर्वक समाधान गर्नुपर्ने बताए।

त्यस्तै, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बेपत्ता सम्वन्धी आयोगमा साझा व्यक्तिलाई नियुक्त गर्नुपर्नेमा जोड दिए।

काङ्ग्रेसका केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले द्वन्द्वका क्रममा भएका घटनाको दीर्घकालीन समाधान गर्नुपर्छ भने। रासस तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्