काठमाडौं, १० असोज । नेपाल प्रहरीमा एआइजी धीरु बस्न्यात फूर्तिला अधिकृतका रुपमा चिनिन्छ । झण्डै ३० वर्षे सेवाकालमा उनी सधै क्षमतावान प्रहरीका रुपमा रहे । जहाँ पुगे त्यहाँ धमाकेदार काम गरे । हरीमा उत्कृष्ट अधिकृतलाई प्रदान गरिने ब्याटन समेत पाए ।तर, अहिले उनी राष्ट्रिय सुरक्षा परिषदमा थन्क्याइएका छन् ।
सरकारले उनलाई राष्ट्रिय सुरक्षा परिषदको काजमा राखेको छ । हालै भएको एआइजी बढुवामा पनि उनी फेरि काजमै पठाइएका छन् । डिआइजीको दरबन्दी भएको ठाउँमा एआइजी बस्न्यातलाई काजमा राखिएको छ जुन प्रहरीका लागि सबैभन्दा अनाकर्षणको ठाउँ हो ।
बस्न्यात तारोमा पर्नुमा नेपाल प्रहरीको महाराजगञ्जस्थित प्रहरी शिक्षण प्रतिष्ठान पनौतीमा सार्ने सरकारको निर्णय कार्यान्वयनको विषय हो । यसमा उनले भित्री रुपमा असन्तुष्टि जनाएका थिए । प्रहरीको महत्वपूर्ण प्रतिष्ठान पनौती पुर्याउन लाग्दा उनी यसको विपक्षमा उभिएका थिए । त्यसै आधारमा उनलाई आर्थिक अपारदर्शिताको आरोप लगाइयो ।
योजनावद्ध तरिकाले प्रोपोगान्डा मच्चाएर बदनाम गर्न खोजियो । प्रतिष्ठान पनौती सार्ने सरकारको निर्णयका विरुद्ध मिडियामा आएका समाचारमा उनलाई दोष लगाइएको थियो । यो घटनामा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत मुछिएको थियो ।
एआइजी बस्न्यात आफ्नो अडानमा दृढ रहेकाले उनलाई जिम्मेवार मुक्त जस्तै बनाइएको छ । बस्न्यातमाथि कारबाहीकै शैलीमा गरिएको व्यवहारले प्रहरीभित्र निकै चासो र चर्चा पाएको छ । काम गर्न सक्ने क्षमतावान प्रहरीमाथि किन यस्तो भइरहेको छ भनी प्रश्न उठ्न थालेको छ ।