समाचार विश्लेषण । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले शनिबार गम्भीर अभिव्यक्ति दिए । उनले देशमा नेकपा अब सबै नगारिकको एकमात्र दल हुने बताए ।
प्रचण्डले भने, ‘एकवर्षभित्र नेपाल कम्युनिष्ट पार्टीलाई सबै नेपालीको एकमात्र दल बनाएरै छाड्छु ।’ उनले किन नेकपालाई सबै नेपालीको एकमात्र दल बनाउन खोजे ? बहुदलीय व्यवस्थामा एकमात्र दल बनाउन खोज्नुलाई गम्भीरताका साथ लिइएको छ ।
प्रचण्डमाथि विगतमा सत्ता कब्जाको आरोप लाग्ने गरेको थियो । सेनालगायत देशका महत्वपूर्ण संस्थामा कब्जा जमाउन खोजेको आरोपलाई पुष्टि हुनेगरी उनले सेनापति हटाउन खोजे । यसले उनलाई फसाएन मात्र प्रधानमन्त्री पद त्याग गर्नुपर्यो । अहिले एकतापछि नेकपा बनेपछि राज्यको महत्वपूर्ण निकायमा नियन्त्रण कायम गरिरहेको चर्चा चलिरहेको छ । यसलाई बल पुग्ने गरी नेकपाले राज्यका अधिकांश निकायमा नियुक्ति गरिरहेको छ । नेपाली सेनामा पूर्व माओवादी लडाकु यमबहादुर अधिकारी जर्नेल बनाइएका छन् । उनका लागि विशेष पद खडा गरियो । नेपाल प्रहरीमा आइजीपी हटाएर आफू अनुकूलको मानिस ल्याउने चलखेल भइरहेको छ ।
नेकपाले निषेधको राजनीतिलाई परीक्षणका रुपमा शुरु गरेको छ । भ्रष्टाचारविरुद्धका अभियन्ता ज्ञानेन्द्र शाहीलाई नेकपाको भातृ संगठन युवा संघले विभिन्न जिल्लामा निषेध गरेको छ । उनीमाथि चितवनमा शनिबार गम्भीर आक्रमण भयो । घटनाक्रमले एकदलीय शासन स्थापित गर्न खोजिएको होइन भन्ने आशंका उत्पन्न भएको छ ।
अहिले नेकपा चीनको जस्तै सी जिङपिङ विचारधाराबाट प्रभावित छ । चिनियाँ कम्युनिष्ट पार्टीबाट प्रशिक्षण पनि भइसकेको छ । चीनमा एकमात्र कम्युनिष्ट पार्टीको शासन चल्छ । प्रचण्ड सी विचारधाराबाट प्रभावित भएर बोल्न थालेका छन् । उनले नेपालमा नेकपालाई नेपाली जनताको एकमात्र दल बनाइछाड्ने अभिव्यक्ति दिनुले देशमा एक दलीय व्यवस्थाको आशंकाहरु उत्पन्न हुन थालेको छ ।