तनहुँ, १२ असोज । व्यास नगरपालिका ३ मा लामो दुरीको बस रोक्न लगाइयो । तनहुँका प्रहरी प्रमुख एसपी बिनोद सिलवालले बस रोक्न लगाएपछि चालक र यात्रु केही न केही भयो भन्ने ठाने । चालक आत्तिए । उनलाई बसबाट ओर्लन भनियो ।
अत्तालिएका चालक बसबाट ओर्लिएका मात्र के थिए टीकादानी र माला सारियो । एसपी सिलवालले चालकलाई टीका र माला लगाएर सम्मान गरे । चालक अक्क न बक्क परे ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँको कार्यालय अगाडी मेन रोडमा जिल्ला प्रहरी कार्यालय तनहुँको आयोजनामा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत चालकको सम्मान गरिएको थियो । सडक सुरक्षा र सभ्य बनाउन चालकको महत्वपूर्ण भूमिका हुने भन्दै नेपाल प्रहरीले देशभर यो कार्यक्रम राख्यो । तनहुँमा पनि प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितको प्रमुख आतिथ्यता एवं एसपी विनोद सिलवाल तथा विभिन्न बस व्यवसायी प्रा.लि. का पदाधिकारीको उपस्थितिमा लामो दुरी तथा छोटो दुरीका सवारी चालक, सह चालकलाई टिका तथा फुलमाला लगाई उक्त सवारी साधनमा सवार सम्पुर्ण यात्रुहरुलाई विजय दशमीको शुभकामना दिइएको थियो । शुभ कामना सहित दुर्घटना न्युनिकरण सम्बन्धी पर्चा पम्पलेट वितरण गरिएको थियो ।
तस्बिर सौजन्यः जिप्रका तनहुँ