काठमाडौंं, १४ असोज । चिनियाँ राष्ट्रपति सी चिनफिङ, प्रथम महिला पेङ लियुआन, विदेशमन्त्री एवं चिनियाँ कम्युनिस्ट पार्टीका ‘स्टेट काउन्सिलर’ वाङ यीसहितको उच्चस्तरीय भ्रमणलाई लक्षित गरेर आन्तरिक व्यवस्थापन र सुरक्षा तयारी अघि बढाइएको छ।
‘असोज अन्तिम साता राष्ट्रपति सीको भ्रमण हुन सक्ने भएकाले त्यसलाई लक्षित गरेर सुरक्षा व्यवस्थापन भइरहेको छ,’ स्रोतले भन्यो । गृह मन्त्रालयले राष्ट्रपति सीको भ्रमणलाई लिएर ‘आन्तरिक सुरक्षा कार्यविधि’ बनाउँदै छ।
कार्यविधि निर्माणमा गृहले सेनासँग समन्वय गरेको छ। सुरक्षाको मुख्य कमान्ड सेनाको हुने भएकाले उसको आवश्यकताअनुसार कार्यविधि बनाउन लागिएको हो। कार्यविधिमा विमानस्थलदेखि बस्ने र भेटघाट हुने स्थानमा कुन सुरक्षा निकायले कुन किसिमको जिम्मेवारी लिने भन्ने तय हुनेछ।
उच्च स्रोतका अनुसार भ्रमणमा प्रयोग गरिने ‘एरोहेड कारकेड सेट’ पनि चीनबाटै ल्याइनेछ। सी भ्रमणलाई लिएर गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा नेपाली सेनाका बलाधिकृत रथी शरदकुमार गिरी, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीसहितको केन्द्रीय सुरक्षा समिति बैठक बसेको थियो।
आइतबार साँझ पनि चारवटै सुरक्षा निकायका अधिकारी सीको भ्रमणमा केन्द्रित रहेर प्रधानमन्त्री कार्यालयमा भेला भएका थिए ।
केन्द्रीय सुरक्षा समितिको निर्देशनअनुसार सीको भ्रमण सुरक्षाअन्तर्गत सेनाका उपत्यका पृतनापति उपरथी नीरञ्जनकुमार श्रेष्ठको अध्यक्षतामा चारवटै सुरक्षा निकायका अधिकारी सम्मिलित ‘केन्द्रीय कमान्ड पोस्ट’ गठन गरिएको छ।
नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीले भ्रमण अवधिभर माथिल्लो तहका सुरक्षा अधिकारीले प्रयोग गर्ने सवारी ३ दिनका लागि तान्ने तयारी गरेका छन् । उक्त सवारी साधन भ्रमण दलका सदस्यले प्रयोग गर्नेछन्।
राष्ट्रपति सीका लागि चीनबाटै एयर चाइनाका २ वटा जहाज र ‘एरोहेड कारकेड’ सेट आउने स्रोतको भनाइ छरु। ‘एरोहेड कारकेड’ एक देशका राष्ट्रप्रमुख अर्को देशको राजकीय भ्रमणमा जाँदा धनुषवाण आकारमा गरिएको ‘भीभीआईपी सवारी सुरक्षा व्यवस्थापन’ हो। राष्ट्रपति सीको सुरक्षा व्यवस्थापन र आन्तरिक तयारीलाई सरकारले गोप्य राखेको छ।
पछिल्लो पटक २०७३ कात्तिक १७ देखि १९ गते भारतीय राष्ट्रपति प्रणव मुखर्जी र २०७१ साउन १८ र १९ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको राजकीय भ्रमणमा पनि नेपालले ‘एरोहेड कारकेड’ सहितको सुरक्षा व्यवस्था गरेको थियोर।
राष्ट्रपति मुखर्जी आउँदा नेपालकै कारकेड प्रयोग गरिए पनि मोदीले भारतबाटै आफूले प्रयोग गर्ने सवारी सेट ल्याएका थिए। मुखर्जीको भ्रमणमा नेपाल सरकारले सार्वजनिक बिदा दिएको थियो । आजको कान्तीपुर दैनिकमा मातृका दाहालले खवर लेखेका छन् ।