काठमाडौं, १५ असोज । डेमोक्रेटिक लयर्स एशोसिएनकी महासचिव लक्ष्मी दाहाल रावलले शाहीमाथि जवरजस्ती करणी भएको हो कि दुव्र्यवहारमात्रै भएको हो भन्ने यकिन भएपछि दोषिमाथि सोहीअनुसारको सजाय हुने तर्क गरिन् । यो प्रकरणमा के भएको हो ? भन्ने कुरा सत्य, तथ्य बाहिर ल्याउनुपर्ने उनको माग छ ।
बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भनिन्,‘यो घट्नाबारे सिंगो राष्ट्र नै जानकार छ । भोलि त्यस्तो घट्ना नहोस भनेर यो प्रकरणमा सत्य, तथ्य बाहिर आउनुपर्छ ।’ उनले उक्त घट्नाको चित्तबुझ्दो तरिकाले सेटलमेन्ट गर्नुपर्ने तर्क गरिन् ।
उनले भनिन्,‘यो त सभामुखको चरित्रहत्या मात्रै होईन, देशको बेईज्जति भएको छ । आरोपको आधार हेरेर छानबिन हुनुपर्छ ।’ शाहीले आफू डिप्रेसनको विरामी भनेर बोलेको कुरामा पनि चिकित्सकबाट प्रमाणित हुनुपर्छ । मानसिक रोगी भएको भए सरकारी जागिरेको लागि कसरी योग्य भईँन् ?।’
उनले सत्ताको शक्तिले उक्त घट्नालाई मोड्न नहुनेपनि ध्यानाकार्षण गराईन् । उनले महिलालाई अन्याय भएको भए न्याय दिनुपर्ने र महरालाई पनि गलत आरोप लगाईएको हो भने प्रतिष्ठामा आँच पुगेको सुनाईन् ।