काठमाडौं, १६ असोज । निवर्तमान सभामुख कृष्णबहादुर महरालाई जर्बजस्ती गरेको आरोप लगाएकी रोशनी शाहीमाथि प्रहरीले अनुसन्धानलाई गति दिएको छ । घटनाबारे गहिरो अनुसन्धान अगाडि बढाएको प्रहरीले रोशनीको विगत र वर्तमानको गतिविधिबारे अनुसन्धान गरेको हो ।
संसदकी कर्मचारी रोशनीसँग नजिक भएकाहरुकाबारे प्रहरीले खोजी अगाडि बढाएको छ । रोशनीको महरासँग सम्बन्ध रहे नरहेको र भएको भए कहिले देखि रहेकोभन्नेसम्ममा अनुसन्धान अगाडि बढेको बुझिएको छ । प्रहरीको विश्वस्त स्रोतले रिपोर्टर्स नेपाललाई जानकारी गराए अनुसार सबै कोणबाट अनुसन्धान अगाडि बढेको छ । प्रारम्भिक अनुसन्धानको रिपोर्ट प्रहरी र गृह मन्त्रालयको उच्च तहसम्म पुगिसकेको छ ।
अनुसन्धानका क्रममा रोशनीले आरोप लगाएर आफै किन खण्डन गरिन् भन्ने विषयमा पनि प्रहरीले खोजी गरिरहेको बुझिएको छ । उनको पारिवारिक सम्बन्धका बारेमा पनि अनुसन्धानको सुई घुमेको छ ।
रोशनी वामपन्थी पृष्ठभूमिकै भएको देखिएको छ । उनको नजिकको सम्बन्ध पनि वामपन्थी नेतासँग देखिएको छ । तर, महरामाथि उनको प्रहारको कारणबारे कतिपयले षड्यन्त्र समेत भनेका छन् । सांसद समेत रहेका कानुनविद रामनारायण बिडारीले नियोजित षड्यन्त्र पनि हुनसक्ने बताए ।
प्रहरी अनुसन्धान विभिन्न कोणले भइरहेकाले महरामाथि नियोजित षड्यन्त्र हो होइन भन्नेबारे पनि केन्द्रित रहेको छ । रोशनीले बयान फेरेकाले उनी कारबाहीको दायरामा आउने निश्चित छ ।