Logo

महरामाथि मन्त्री बाँस्कोटाको कडा प्रहार



काठमाडौं, १६ असोज । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले निवर्तमान सभामुख कृष्णबहादुर महराको यौन प्रकरणबारे व्यक्तिले गरेको गल्तीको भागीदार स्वयम व्यक्ति नै हुने प्रतिक्रिया दिएका छन् । उनले भने,“व्यक्तिले गरेको गल्तीको भागीदार स्वयं व्यक्तिनै हुन्छ, पार्टी भनेको ठूलो महत्व बोकेको संवेदनशील सङ्गठीत संस्था हो”

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेपा नगरद्वारा चाडपर्वको अवसरमा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । मन्त्री बाँस्कोटाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) न्यायपूर्ण सोचाइ, दृष्टिकोण, समतामूलक विकास गर्ने राजनीतिक इच्छाशक्ति भएको पार्टी भएको दाबी गरेका छन । आर्थिक रुपान्तरण, मुलुक परिवर्तन, सुख–शान्ति समाजवाद स्थापनाका लागि पार्टीले काम गर्ने उनले बताए । उनले आगामी तीन वर्ष्भित्र नेपाल विकासशील मुलुकमा सूचीकृत हुने दाबी गरेका छन् ।

उनले विकासका कामलाई तीव्रता दिँदै तीन वर्ष्भित्र नेपाल विकासशील मुलुकमा सूचीकृत हुने दाबी गरेका छन् । मन्त्री बाँस्कोटाले वर्तमान समय विकास निर्माणको समय भएकाले समृद्ध नेपालतर्फ लम्किने जोकोही कतै अल्मलिनु नहुने बताए । उनले भने, “काग कराउँदै गर्छ, कसैले स्याल हुइँया मच्चाए पनि सरकारको अभियानमा रोकतोक हुन्न, तपाईहरु ढुक्क हुनुहोस् ।” सरकारको यो शिलान्यासको वर्ष र अर्को उद्घाटनका वर्ष भएको चर्चा गर्दै २२ वर्ष सत्ता चलाउनेको ‘रिजल्ट’ नचाहिने वर्तमान सरकारको एक वर्षमै रिजल्ट चाहियो भन्नु गलत हुने पनि उनले जिकिर गरे ।

मन्त्री बाँस्कोटाले वर्तमान प्रधानमन्त्री कुनै महाराजाको छोरा नभइ स्वतन्त्रताका लागि लडेको, लामो जेलजीवन बिताएको व्यक्ति भएको बताए । उनले भने,“उहाँ हली–किसानको छोरा हुनुहुन्छ, उहाँलाई जनताका दुःखपीर मर्का सबै अनुभव छ, तीनलाई कसरी सुखी र खुशी बनाउने भनेर उहाँ सोचिरहनुहुन्छ, हामी पनि उहाँको सपनालाई साकार पार्ने अभियानमै छौँ ।” उहाँले अघिल्लो पुस्ताको ज्ञान लिन सबै स्थानीय तहमा ज्ञान हस्तान्तरण केन्द्र खोल्ने तयारीमा रहेको जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्