Logo

महराबारे किन बोलेनन् विप्लव ?



काठमाडौं, १७ असोज । निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि रोशनी शाहीले जर्बजस्तीको आरोप लगाएलगत्तै पूर्व माओवादी नेता समेत रहेका समाजवादी पार्टी नेपालका अध्यक्ष डा.बाबुराम भट्टराईले कडा प्रतिक्रिया जनाए । उनले मी टु जस्तै घटना भासभुस हुन नहुने भन्दै सामाजिक सञ्जालमा लेखे ।

तर, विद्रोही नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द्र विप्लव मौन छन् । नेकपाले यस घटनाबारे कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन । विभिन्न दल र तिनका नेताबाट धारणा आइरहँदा सत्ताविरुद्ध उत्रिएको विप्लवले नबोल्नुलाई अर्थपूर्ण मानिएको छ ।

विप्लव कुनैबेला महराका चेला थिए । महरा उनका राजनीतिक गुरु पनि हुन् । पूर्व सहकर्मी भएकाले पनि विप्लव नबोलेको हुनसक्ने ठम्याई छ ।
महराले विद्रोही बनेका विप्लवलाई लक्षित गरी कहिले पनि कडा अभिव्यक्ति दिएनन् । यसकारण पनि दुवैबीच सम्बन्ध सामान्य रहेको बुझ्न सकिन्छ ।

सत्ताधारी र तिनका नेताबाट कुनै त्रुटी भएमा मात्र पनि आफै बोल्ने या बोल्न लगाउने विप्लव यसपटक अझै मौन छन् । १२ असोजको राति भएको भनिएको घटना १३ असोजमा सार्वजनिक भयो । त्यसपछि घटनाले अनेकन मोड लियो । सभामुख पदबाट महराले राजीनामा दिए । तैपनि विप्लव बोलेनन् । न उनले महराप्रति सद्भाव देखाए न त उनको आलोचना गरे ।

सत्ताधारीको भण्डाफोर अभियानमा लागेका विप्लवको मोनता किन ? कतै उनी पूर्व सहकर्मीप्रति लचिलो त भएका होइनन् ? आफ्ना राजनीतिक गुरुप्रति उनको सदभाव त होइन ?



प्रतिक्रिया दिनुहोस्