कठमाडौं, १७ असोज । सभामुख पद रिक्त भएपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्र प्रतिष्पर्धा चलिसकेको छ । बहुमत भएकाले नेकपाले नै सभामुख पदमा उम्मेदवार उठाउने भएको छ । यसका लागि कानुन संशोधन गरेर उपसभामुखलाई राजीनामा दिन लगाउने र सभामुख र उपसभामुखको चुनाव फेरि गर्ने तयारी भएको छ ।
एउटै दलले सभामुख र उपसभामुख राख्न नमिल्ने संवैधानिक व्यवस्था भएकाले नेकपाले उपसभामुखमा शिवमाया तुम्वाहाम्फेलाई राजीनामा गराउने बुझिएको छ । त्यसपछि सभामुखका लागि उम्मेदवार चयन हुनेछ ।
पूर्व माओवादी पक्षधरले सभामुखमा दाबी गरिसकेको छ । प्रचण्डले सभामुखका लागि ओनसरी घर्तीमगरलाई अगाडि बढाउन चाहेका छन् । उनीसँग विगतमा सभामुख भइसकेको अनुभव छ । सभामुखका लागि जर्नादन शर्मा, हरिबोल गजुरेल र अग्नि सापकोटाले पनि इच्छा देखाएका छन् । तर, प्रचण्ड ओनसरीकै पक्षमा रहेको उनीनिकट स्रोतले बताएको छ ।
सभामुख बन्न सुवासचन्द्र नेँवाङले लविङ चलाइसकेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली उनको पक्षमा छन् । तर, प्रचण्डलाई मनाउन सजिलो छैन । प्रचण्डलाई मनाउन सके मात्र नेम्वाङ सभामुख हुने सम्भावना छ । विगतमा सभामुख भइसकेका नेम्वाङलाई रोक्न पूर्व माओवादीको ठूलो पंक्ति लागिसकेको छ ।
रिक्त सभामुखको चुनाव दशैं अगाडि हुने अवस्था छैन । त्यसबीच आकांक्षीहरुलाई दौडधूप गर्ने प्रशस्त समय छ ।