काठमाडौं, १८ असोज । नेपाल सरकारले चिनियाँ राष्ट्रपति सि चिनपिङ नेपाल भ्रमणलाई लिएर दशैंको बीचमा पनि गृहकार्यलाई तिव्रता दिएको छ । पछिल्लो समय लगातार मन्त्रिपरिषद बैठक बसेर सिको नेपाल भ्रमण सफल तुल्याउने तयारी भैरहेको छ । हिजो (शुक्रबार) बसेको मन्त्रिपरिषद बैठकले सिको भ्रमणमा के-कस्ता सम्झौता गर्ने भन्दै छलफल गरेको थियो । बैठकमा रेलवे सम्झौतादेखि जलस्रोतसम्बन्धीका सम्झौता गर्नेबारे छलफल भएको बुझिएको छ । भौतिक पूर्वाधार विकाससम्बन्धी पनि सम्झौता गर्ने नेपाल सरकारको तयारी छ ।
चिनियाँ रेल काठमाडौं ल्याउने भनेर वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक रुपमै बोलिसकेका छन् । ओलीको लागि यो प्रतिष्ठाको विषय पनि हो । तर, चिनियाँ रेल काठमाडौं ल्याउन त्यति सजिलो छैन् । चीनले अुनदानमा बनाईदिने हो भने मात्रै ओलीको सपना साकार हुन्छ । होईन भने, ऋणमा नेपालले बनाउन सक्ने अवस्था छैन् । चिनियाँ पक्षले भने नेपाललाई बिआरआईको सञ्जालमा जसरी पनि जोड्न चाहेको बताउँदै आएको छ । यही परियोजनाअन्तर्गत नेपाललाई भरपुर सहयोग गर्ने चीनको बचनवद्धता छ ।
उता, चिनियाँ राष्टपतिको भ्रमणको पूर्व तयारीस्वरुप चिनियाँ बोइङ ७४७-८०० विमान त्रिभुवन विमानस्थलमा अवतरण गरेर फर्किएको छ । असोज अन्तिमतिर नेपालको भ्रमणमा आउन लागेका चिनियाँ राष्ट्रपतिको सुरक्षाका लागि विमानस्थलको रन(वे,पार्किङ(वे लगायतका व्यवस्थापनको अध्ययन रेकी टोली नेपाल आएको थियो ।
सि भारत हुँदै नेपाल आउने तयारी छ । तर, नेपाल सरकारले भने भारत नगई सिधै नेपाल आउनको लागि चिनियाँ पक्षसँग आग्रह गरिरहेको छ । भारत गएर नेपाल आउँदा सिले नेपाललाई कम प्राथमिकता दिएको सन्देश जाने भन्दै प्रधानमन्त्री ओलीकै आग्रहमा सिधै नेपाल आउनको लागि नेपाल सरकारले आग्रह गरिरहेको छ । तर, अहिले नै सि भारत हुँदै नेपाल आउँछन् वा सिधै नेपाल आउँछन् भन्नेबारे कुनै निश्चित् भएको छैन् ।