काठमाडौं, १८ असोज । राजनीतिमा जब नेताले सत्य बोल्छ तब उसको राजनीति अगाडि बढ्न मुश्किल हुन्छ । यो तीतो यथार्थ हो । तर, एक झुट छोप्न सयौं झुट र सयौं झुट छोप्न हजारौं झुट बोल्नुपर्ने अवस्था हुन्छ । यही अवस्थालाई बुझेर निवर्तमान सभामुख कृष्णबहादुर महरा मौन छन् ।
महराले रोशनी शाहीको कोठामा १२ असोजको साँझ पुगेको होइन भनी जसरी विज्ञप्ति निकाल्न लगाएर झुट बोले । त्यसले उनलाई मुश्किलमा पारेको छ । उनले शाहीको कोठामा पुगेको स्वीकार गरेको भए परिस्थिति फरक हुनसक्थ्यो । जसलाई रोशनीको पछिल्लो अभिव्यक्तिले बलियो आधार दिन्थ्यो । तर, उनले शुरुवाती झुट बोलेर जीवनकै ठूलो गल्ती गरे ।
महरा रातको समयमा रोशनीको कोठामा जानु गम्भीर गल्ती थियो । उनीमाथि रोशनीले जर्बजस्तीको आरोप लगाएपछि स्थिति झन् गम्भीर बन्यो । रोशनीले जतिसुकै महरालाई बचाउन खोजेपनि शुरुवाती झुटले मुश्किल परिसकेको छ ।
रोशनीसँग महराको लामो निकट सम्बन्ध छर्लंग भइसकेको छ । उनले रोशनीलाई नचिने जस्तो देखाउन खोजेपनि सकेनन् ।
महरा तीनकुनेस्थित रोशनीको डेराकोठामा पुगेको भिडियोफुटेज समेत सुरक्षित रहेको बुझिएको छ । यसैले उनलाई राजीनामा दिन वाध्य पार्यो ।
रोशनीले आफू डिप्रेशनको रोगी भएको भनेको अवस्थामा महराले आफू पुगेको तर जुन आरोप लाग्यो त्योभन्दा भिन्न उद्देश्यले पुगेको भन्नसक्थे । अवस्था त्यो पनि रहेन । शुरुमा बोलेको झुटले महरालाई पिरोलेको छ ।
महरा प्रकरणमा रोशनीले जतिसुकै महरालाई जोगाउन खोजेपनि यस घटनामा राष्ट्रिय अन्तर्राष्ट्रिय चासो बढिसकेको छ । राष्ट्रिय मानवअधिकार आयोगले छानविनमा चासो लिएको छ । नेपालस्थित संयुक्तराष्ट्रसंघ र पश्चिमा नियोगहरुले महिला हिंसाप्रति ध्यानार्षण गराउँदै घुमाउरो तरिकाले यस घटनाबारे चासो देखाएका छन् ।
महरा पक्राउ पर्नबाट तत्काल जोगिएका छन् । तर, घटनाको अनुसन्धान रोक्न सजिलो भने छैन