Logo

‘विद्रोहको भुसको आगो भित्रभित्र सल्कँदै गएको अवस्था’ (पूर्व राजा ज्ञानेन्द्र शाहको सन्देशसहित)



काठमाडौं, १८ असोज । पूर्व राजा ज्ञानेन्द्र शाहले देशमा विद्रोहको भुसको आगो भित्र भित्रै सल्कँदै गएको अवस्था बनेको बताएका छन् । बडादशैंका अवसरमा सन्देश दिदै उनले राष्ट्रियता धर्मराएको भन्दै चिन्ता समेत व्यक्त गरेका छन् । नवदुर्गा भवानीलाई सम्झदै देशमा सबै आसुरी र स्वार्थी व्यवहारको विनाश गरी सनातनिक सत्य पथतर्फ अभिप्रेरित गरुन् भनी कामना समेत गरेका छन् ।

‘राष्ट्रियता धर्मराएको, शान्ति र अमनचैन हराएको र फेरि पनि विद्रोहको भुसको आगो भित्रभित्रै सल्कँदै गएको अवस्थाले कसैको हित हुँदैन,’ पूर्व राजाले सन्देशमा भनेका छन् । उनले प्रतिकार, प्रतिवाद, दमन र नियन्त्रणको कार्यविधि बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
देशमा निषेध र विभेदको प्रकृयाप्रति पूर्व राजाले चासो देखाएका छन् । सन्देशमा भनेका छन्, ‘एकले अर्कामाथि दोष थोपर्ने, जिम्मेवारी पन्छ्यौने र आ आफ्नो कमि कमजोरीलाई ढाकछोप गरी, निषेध र विभेदको प्रकृया अपनाउने प्रवृत्ति कुनै पनि अर्थमा राम्रो होइन ।’

राजनीतिक दलहरुतर्फ संकेत गर्दै पूर्व राजाले पूर्खाको गाथा, पौरख र सुसंस्कृत सभ्यतालाई भुलेर जान खोज्दा कदापि भलो नहुने उल्लेख गरेका छन् । उनले सन्देशमा लेखेका छन्, ‘नेपाल हाम्रो हो, हामी नेपाली हौं र नेपालको आफ्नो मौलिकपन नै हाम्रो अस्तित्व हो भन्ने कुरा हामीले बुझ्नै पर्ने हुन्छ ।’

पूर्व राजाले नवदुर्गा भवानीलाई सम्झँदै कडा शब्दमा लेखेका छन्, ‘श्री नवदुर्गा भवानीले हाम्रा सबै आसुरी र स्वार्थी व्यवहारको विनाश गरी हामीलाई हाम्रो सनातनिक सत्य पथतर्फ अभिप्रेरित गरुन् ।’

देशको वर्तमान राजनीतिक घटनाक्रमलाई घुमाउरो तरिकाले विश्लेषण गर्दै पूर्व राजाको सन्देश आउनुलाई अर्थपूर्ण मानिएको छ । सत्तारुढ दलका नेताहरुबाट पूर्व राजालाई नागार्जुनबाट हटाउने सम्मको चेतावनी आइरहँदा प्रमुख दल र तिनका नेतातर्फ संकेत गर्दै उनको कडा सन्देश आएको हो । Photo File



प्रतिक्रिया दिनुहोस्