काठमाण्डौ । असोज १४ गते अर्थात ५ दिनअघिसम्म कृष्ण बहादुर महरा सभामुख थिए । १२ गतेको रात महराको लागि सायदै जीवनकै सबैभन्दा दुर्भाग्यपूर्ण रात बन्यो । मदिरा सेवन गरेको झोकमा एक महिलाको कोठमा गई यौन दुव्र्यवहार गरेको आरोपले महराको समग्र नै अध्यारो बनाइदियो ।
राष्ट्रकै वरियातामा चौथो नम्बरमा थिए कृष्णबहादुर महरा । अर्थात उनी सभामुख पदमा आसिन थिए । लामो राजनीतिक संघर्ष र त्यागले प्राप्त भएको उक्त पद निकै दुखदायी तरिकाले गुम्यो । आरोप पनि यस्तो गम्भीर लागेको छ कि, जुन आरोप पुष्टी भएमा महराको उच्च राजनीतिक जीवन एकाएक भासिने छ ।
त्यसो त महराले जबरजस्ती करणी गरेको भनिएकी महिला रोशनी शाहीले संचारमाध्यममा दिएको अभिव्यक्तिले नै महरा बदनाम भइसकेका छन् । यद्यपी आरोपबारे छानविन हुन बाँकी छ । १२ गते राति मदिरा सेवन गरी रोशनी शाहीको कोठमा पुगेका महराले जबरजस्ती करणीको प्रयास गरे ।
भोलिपल्ट १३ गते रोशनीले संचारमाध्यममार्फत घटनाको पर्दाफास गरिन् । लगत्तै महरा संकटमा परे । संकटबाट जोगित फेरी १३ गते रोशनीलाई बयान फेर्न लगाइयो । त्यसपछि सबैले रोशनीको आलोचना गरे । २४ घण्टामा बयान फेरेको भनेर रोशनीको आलोचना भयो भने अघिल्लो दिन दिएको बयान नै सही हो भन्ने अनुमान धेरैलाई भयो । अन्ततः चौतर्फी दबाबपछि रोशनीले फेरी एकाएक १८ गते महराविरुद्ध प्रहरीमा उजुरी हालिन् । महराले भने १४ गते नै अनुसन्धानमा सघाउन भन्दै सभामुख पदबाट राजिनामा दिए । महरा वास्तवमै राजनीतिक संघर्षबाट सभामुख बन्नेसम्मको हैसियत बनाएका नेता थिए ।
पछिल्लो पटक सम्पन्न संघीय संसदअन्तर्गत प्रतिनिधिसभाका लागि दाङ क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । जनताले मत दिएर देश र राष्ट्रका लागि योगदान दिन महरालाई संसदमा पठाएका थिए । जनमतकै बलमा संसदमा पुगेका महरा सभामुख बने । २०७४ फागुन २४ गते महरा सभामुखमा निर्विरोध निर्वाचित भएका थिए ।
तत्कालिन माओवादीका पटकपटक पार्टी प्रवक्ता, दुईपटक सरकार–माओवादी वार्ता टोलीका संयोजक तथा एकपटक सदस्य बनेका महरा पूर्व उप्रधान तथा गृहमन्त्री हुन् । उनी पटकपटक सूचना तथा सञ्चार मन्त्री बनिसकेका छन् ।
सञ्चारमन्त्री हुँदा उनले अघि सारेको ‘हातहातमा मोबाइल सेट, घरघरमा इन्टरनेट’को महत्वाकांक्षी नारा छोटै समयमा स्थापित भयो । बि. सं. २०६४ सालमा अन्तरिम व्यवस्थापिकामा गएका ८३ जना माओवादी विधायकमा महरा माओवादी विधायकका संसदीय दलको नेता थिए ।
माओवादी सरकारमा गएपछि माओवादीको तर्फबाट मन्त्रिमण्डलमा नेतृत्व गरेर सूचना तथा संचारमन्त्री समेत भएका थिए । बि. सं. २०४८ सालको आम निर्वाचनबाट रोल्पा २, बि. सं. २०६४ को संविधानसभा निर्वाचनमा दाङ ३ र संविधानसभा निर्वाचनमा रोल्पा १ बाट विजयी बनेका थिए । महराले रोल्पा जिल्लाको सदरमुकाम स्थित लिबाङ माध्यमिक विद्यालयमा १२ वर्ष विज्ञान विषयको शिक्षण गरेका थिए ।
बि. सं. २०३६ देखि वाम राजनीतिमा लागेका महरा बि. सं. २०५२ देखि भूमिगत भए। माओवादी बिद्रोह सुरू भएपछि कृष्णबहादुर महरा सपरिवार नै भूमिगत भएका थिए । कतिपय नेताहरुले आफ्ना छोराछोरी बिदेश पढाइ रहँदा महराले भने आफ्ना छोराछोरीलाई युद्धमै होमेका थिए ।
निकै सरल स्वभावका मानिने महरा शान्त्रि प्रक्रियामा आएपछि पटक पटक विभिन्न विवादमा परेका थिए । केही विवादलाई छोड्ने हो भने नेपालको राजनीतिक परिवर्तनमा महराको भूमिका उल्लेखनीय थियो । तर यौन दुव्र्यवहारको आरोपले महरा शुन्यमा झरेका छन् ।