काठमाडौं, २० असोज । प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले नेपाल प्रहरीले परम्परागत रुपमा मनाउँदै आएको बडा दसैंका अवसरमा सोमबार प्रहरी प्रधान कार्यालय सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा सङ्कल्प पूजा गरेका छन् ।
पूजाअर्चनाको क्रममा प्रहरी महानिरीक्षक खनालले बली पूजा गर्नुको साथै निसानमा पञ्जा छाप समेत लगाए । साथै प्रहरी महानिरीक्षक खनालले मौलोपूजाका अवसरमा विशेष कार्य गर्ने प्रहरी सहायक निरीक्षक भवानी चन्दलाई पगरी तथा नगद पुरस्कार र प्रहरी हवल्दार जितेन्द्र खाँ थारुलाई नगद पुरस्कार प्रदान गरे ।
सो अवसरमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृतहरुले मौलो परिक्रमा गरेका थिए । पूजा बिसर्जनपछि मूलकोत हनुमानढोकाको लागि निशान प्रस्थान गराइएको थियो ।
उक्त अवसरमा पुजारीबाट टीका तथा प्रसाद ग्रहण समेत गरिएको थियो ।