कावासोती, २३ असोज : पूर्वाधार अभावमा पर्यटकीय गन्तव्यका रुपमा रहेको देवचुली डाँडा ओझेलमा परेको छ । देवचुली नगरपालिका र बुलिङटार गाउँपालिकाको सिमानामा पर्ने यस क्षेत्रमा पदमार्ग, खानेपानी, विश्रामस्थल लगायतका पूर्वाधार निर्माण हुन नसक्दा यस क्षेत्र ओझेलमा परेको छ । नवलपरासी जिल्लाअन्तर्गत महाभारत पर्वत शृङ्खलाको सबैभन्दा उच्च चुलीका रुपमा रहेको यस क्षेत्रमा आवश्यक पूर्वाधार निर्माण नहुँदा ओझेलमा परेको छ । करीब एकहजार ९३६ मिटरको उचाइमा रहेको पर्यटकीय क्षेत्र देवचुली डाँडाबाट उत्तरतर्फका हिमाली दृश्य सहजै अवलोकन गर्न सकिन्छ । दक्षिणमा पूर्व–पश्चिम राजमार्गका बस्तीसहित नारायणी नदी, चितवन राष्ट्रिय निकुञ्ज क्षेत्र, समथर भू–भागको अवलोकन गर्न सकिन्छ ।
प्राकृतिकरुपमा मनोरमस्थल भए पनि यहाँ आवश्यक पूर्वाधार निर्माण हुन नसक्दा देवचुली डाँडा क्षेत्र ओझेलमा परेको छ । देवचुली नगरपालिकाको कीर्तिपुरबाट करीब तीन घण्टा उकालो हिँडेपछि पुग्न सकिने यस क्षेत्रमा प्राकृतिक गुफा, तीन कन्या माईको मन्दिर, भ्यू टावरलगायतका संरचना रहेका छन् । परापूर्वकालमा यहाँ पाँच पाण्डव गुप्तबास बसेको किंवदन्तीसमेत रहेको छ ।
धार्मिकरुपमा समेत महत्व बोकेको यस क्षेत्रमा पदमार्ग, विश्राम स्थल, खानेपानीको सुविधा पुर्याउने र उचित प्रचारप्रसार गर्ने हो भने आन्तरिक तथा बाह्य पर्यटकको गन्तब्य बन्ने थियो । थारु समुदायले यहाँ प्रत्येक वर्ष चैत पूर्णिमाका दिन विशेष पूजा गर्ने गर्दछन् । यसै दिन यहाँ मेलासमेत लाग्ने गर्दछ । थारु समुदायले यहाँ पूजाआजा गर्नाले आफ्नो कुलमा सुख, समृद्धि हुने विश्वास छ ।
चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र, नारायणी क्षेत्रमा स्थापना भएका घरबाससँगै यस क्षेत्रलाई समेटेर देवचुलीलाई पदयात्राको गन्तब्य बनाउने छलफल चले पनि अझै कुनै ठोस कार्य भने हुन सकेको छैन ।
विभिन्न समयमा यहाँ रहेका उद्योग सङ्घ, स्थानीय तह र सामाजिक क्षेत्रमा कार्य गर्ने सङ्घसंस्थाले यस क्षेत्रलाई चिनाउन पदयात्रा, महोत्सव, प्रचारप्रसार गर्ने गरेका छन् । तर पूर्वाधार निर्माणमा भने कसैको पहल हुन सकेको छैन ।
देवचुली नगरपालिकाका प्रमुख पूर्णकुमार श्रेष्ठले यस क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नका लागि पूर्वाधार निर्माणको योजना रहेको बताए ।
“हामीले यसको विकासका लागि योजना बनाएका छौँ, अहिले सडकको चक्रपथको काम गर्दैछौ , चक्रपथसँगै कीर्तिपुरलाई जोडी यस क्षेत्रलाई पनि समेट्ने गरी छलफल गरेका छौँ”, प्रमुख श्रेष्ठले भने । देवचुलीमा पदमार्ग विस्तार गर्ने, यसै क्षेत्रमा घरबास सञ्चालन गर्ने गरी छलफल चलिरहेको प्रमुख श्रेष्ठले बताए ।
गण्डकी प्रदेशले प्रदेशका प्रमुख पर्यटकीय गन्तब्यको सूचीमा नवलपरासी पूर्वनवलपुरको देवचुली डाँडालाई समेत समेटेको छ । पर्यटनको प्रमुख सम्भावना बोकेको क्षेत्र भएको र प्राकृतिकरुपमा मनोरम स्थल भएकाले यसलाई जिल्लाको प्रमुख पर्यटकीय गन्तब्यका रुपमा सूचीकृत गरिएको छ । अहिले देवचुली क्षेत्रमा आन्तरिक पर्यटक कममात्रामा पुग्ने गरेका छन् ।
पूर्वाधारकै कमीका कारण पर्यटक पुग्न नसकेको देवचुलीका सामाजिक युवा अभियन्ता राजु चापागाईले बताए । “हामीले विभिन्न समयमा देवचुली पदयात्रा कार्यक्रम सञ्चालन गरिरहेका छौँ, तर कतिपय आवश्यक संरचना निर्माण गर्न नसक्दा, जिल्लाकै महत्वपूर्ण पर्यटकीय क्षेत्र ओझेलमा परेको छ”, चापागाईले भने । रासस