Logo

चिनियाँ राष्ट्रपति आउनुपुर्व नेकपाको बैठक, रेलबारे हस्ताक्षर गर्ने निश्कर्ष



काठमाडौं, २५ असोज । चिनियाँ राष्ट्रपति सि जिनफिङ आज अपरान्ह नेपाल आउँदैछन् । दुई दिने नेपाल भ्रमणमा आउन लागेका सीको स्वागतको लागि नेपाल सरकारले भव्य तयारी गरिसकेको छ । आज विहानमात्रै प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले सडकको निरीक्षण गरेका थिए ।

त्यसलगत्तै, प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीका शीर्ष नेताहरुसँग छलफल भएको थियो । सीको भ्रमणको क्रममा के–के विषयमा सम्झौता गर्ने भन्नेबारे नेकपाका नेताहरुबीच छलफल भएको प्रधानमन्त्री निवास बालुवाटार स्रोतले जनायो । सीको भ्रमणका क्रममा दुई देशबीच दर्जनभन्दा बढी सम्झौता र सहमति हुने बताइएको छ। सम्झौता तथा सहमतिको खाका नेपालले तय गरिसकेको छ।

परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले पत्रकार ऋषि धमलासँगको अन्तर्वार्तामा पनि सीको भ्रमणको क्रममा सडक, प्रसारण लाइन, रेलमार्ग, क्रसबोर्डर रेल, आर्थिक जोन, सुरुङ मार्ग, नाका स्तरोन्नति, सडक मार्गको विकासलगायतका विषय सम्झौता तथा सहमतिमा समेटिएका छन्। सरकारी अधिकारी नेपालले बनाउन लागेको पूर्वपश्चिम रेलमार्गमा चिनियाँ सहयोग घोषणा हुन सक्ने बताएका छन् ।

सरकारले पूर्वपश्चिम रेलका लागि चिनियाँ एक्जिम बैंकसँग ऋणको अपेक्षा गरेको छ। भ्रमणको एजेन्डमा त्यो विषय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सूचीमा राखेको छ। केरुङ–काठमाडौं रेलका विषयमा विस्तृत परियोजना अध्ययन प्रतिवेदन तयार गर्ने विषयमा जोड दिइने भएको छ।

यस्तै सरकारले टोखा–छहरे सुरुङमार्गसहित सडक खण्ड निर्माणको प्रस्ताव गर्ने तयारी गरेको छ। अन्य दर्जनभन्दा बढी विषयमा छलफल भई सम्झौताका लागि तयारी गरेको बताइएको छ। भ्रमणमा चीनले सरप्राइज घोषणा गर्न सक्ने अनुमान गरिएको छ।

नेपाल सरकारले काठमाडौं–केरुङ रेल बनाउने सीको यही भ्रमणको क्रममा हस्ताक्षर गर्नुपर्नेमा जोड दिएको छ । नेकपाको आजको बैठकमा पनि यो विषयमा कुराकानी भएको एक नेताले जनाए । कसरी रेल बनाउने भन्नेबारे मोडालिटीबारे कुरा गर्ने सरकारको तयारी छ । सरकारले पनि चीनसँग अनुदानमा देउ भन्ने प्रस्ताव गर्नुपर्ने नेकपाको निश्कर्ष छ। रेलसम्बन्धी भोलि नै हस्ताक्षर गर्नुपर्छ भन्नेबारे धेरै नेताहरुको एकमत छ । तर, चीन पूरै अनुदान दिन तयार छैन् ।



प्रतिक्रिया दिनुहोस्