Logo

रात्रीभोजमा भण्डारी र सीको सम्बोधन : दुवैको चासो रेलमार्गमा



काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली जनताले केरुङदेखि काठमाडौं हुँदै लुम्बिनीसम्म रेलमार्गले जोडिएको देख्न चाहेको बताएकी छन् ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्मानमा शनिबार आयोजित रात्रीभोजलाई सम्बोधन गर्दै भण्डारीले नेपाली जनताको चाहना छिट्टै पूरा हुने आशासमेत व्यक्त गरिन् ।

उनले नेपालमा चिनियाँ लगानीका लागिसमेत आग्रह गरिन् । राष्ट्रपति भण्डारीले एक चीन नीतिप्रति नेपालको प्रतिवद्धतासमेत दोर्होयाएकी छिन् ।

उनले चीन विकासमा चिनियाँ नेताको सक्षम र दूरदर्शी नेतृत्व एवं चिनियाँ जनताको साथ महत्वपूर्ण रहेको बताएकी छन् ।

उनले बुद्धको जन्मभूमि लुम्बिनीलाई विश्व शान्तिको केन्द्र बनाउने प्रयासमा चीनको महत्वपूर्ण सहयोगको अपेक्षा गरेको बताइन् । उनले नेपाल एक चीन नीतिप्रति पूर्ण प्रतिबद्ध रहेको बताउँदै उनले नेपाली भूमि चीनको हित विरुद्ध हुने कुनैपनि प्रकारका गतिविधिहरुका लागि प्रयोग हुन नदिने प्रतिबद्धतालाई व्यवाहरामा उतार्न सबै प्रकारका ठोस अपायहरु अवलम्बन गर्दै आएको उल्लेख गरिन् ।

यसैबीच नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङले हिमालय सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेका छन् । राष्ट्रपति सीको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको रात्रीभोजमा सम्बोधन गर्दै राष्ट्रपति सीले हिमालय सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने बताएका हुन् ।

उनले रसुवागढी–छहरे–काठमाडौं सुरुङ मार्ग निर्माण गर्ने र अरनिको राजमार्गको स्तरोन्नती गर्ने पनि बताए । उनले राष्ट्रपति विद्यादेवी भण्डारी र आफूबीच चुनौती र कठिनाइको सामना गर्ने र विकास तथा समृद्धितिर जान सहकार्य गर्ने सहमति भएकोसमेत जानकारी दिए ।

सीले नेपाल भ्रमण वर्ष २०२० मा धेरैभन्दा धेरै चिनियाँ पर्यटकलाई नेपालमा जान उत्प्रेरित गर्ने पनि बताए । साथै जलवायुबारे नेपालको चासोको समर्थन गर्ने र हिमालय क्षेत्रको रक्षामा सहयोग गर्नेसमेत सीले बताएका छन् ।

आइतबार चिनियाँ राष्ट्रपति सी र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डलबीच विभिन्न सहमतिमा हस्ताक्षर हुने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्