Logo

मुस्कुराउँदै महरा अदालतबाट निस्किएपछि…



काठमाडौं, २८ असोज । निवर्तमान सभामुख कृष्णबहादुर महराप्रति सहानुभूती जनाउने पूर्व माओवादी कार्यकर्ता नभएका होइनन् । तर, उनी जर्बजस्तीको प्रयासको अभियोगमा म्याद थपका लागि अदालत लगिंदा उनका समर्थक कोही देखिएनन् ।

सुरक्षाकर्मीको घेरामा रहेका महरा मुस्कुराउँदै अदालत प्रवेश गरे । कारमा राखिंदा पनि उनी मुस्कुराउँदै निस्किए । कुनै पीडाभाव नदेखाई महरा हाँस्दै गए । अन्य समयमा गम्भीर मुद्रामा देखिने महरा मंगलबार काठमाडौं जिल्ला अदालतमा लगिंदा र फर्काइँदा गम्भीर थिएनन् ।

प्रायः सुट पाइन्ट र नेपाली टोपीमा देखिने महरा माओवादी हुँदाको जस्तै पहिरनमा थिए । सेतो टी सर्ट र नीलो पाइन्ट लगाएका थिए । चश्मा पहिरिएका उनी उमेरभन्दा कम जस्ता देखिन्थे । कालो जुत्ता टलक्क टल्काएका थिए ।

महरालाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले सुरक्षा दिएको थियो । अदालतले तीन दिनको म्याद थप्न अनुमती दिएपछि महरा सुरक्षा घेरामा निस्किएका थिए ।

महराको पक्षमा कुनै नेता कार्यकर्ता अदालत पुगेका देखिएनन् । औंलाले गन्न सकिने शुभचिन्तक मात्र देखिएका थिए ।

महिलामाथि जर्बजस्ती जस्तो गम्भीर अभियोग लागेकाले उनको पक्षमा बोल्न नेकपाका पूर्व माओवादी हिच्किचाइरहेका छन् । उनको पक्षमा पूर्व माओवादी निकट रमण श्रेष्ठले बहस गरे ।

यसअघि सरकारी वकिलको कार्यालयमा महरालाई बयानका लागि लगिएको थियो । त्यहाँ एक घन्टा राखेर बयानपछि अदालत लगिएको थियो ।

दसी प्रमाण के
रोशनी शाहीमाथिको जर्बजस्ती अभियोगमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरामाथिको अदालती प्रक्रियाले आजबाट गति लिएको छ । अदालतको अनुमतिमा प्रहरीले पक्राउ पूर्जी जारी गरी सभामुखको सरकारी निवासबाट १९ असोजमा पक्राउ परेका महरा प्रकरणमा को दोषी र को निर्दोष हुने प्रहरीले अदालतमा पेश गर्ने अनुसन्धान रिपोर्ट, कानुन व्यवसायीको बहसपछि न्यायाधीशले गर्ने फैसलाले निक्र्यौल गर्नेछ ।

महरालाई र्पुपक्षका लागि थुनामा राखिने या धरौटीमा रिहा गरी मुद्दा चल्ने विषय पनि छिट्टै टुंगो लाग्नेछ । भीआइपीको पक्राउ र घटनामा जोडिएका विषय जटिल बन्नुले को दोषी भन्ने फैसला आउन समय लाग्न सक्छ ।

अहिलेसम्म बाहिर आएका विषय बयानमा आधारित छ । रोशनीले जर्बजस्तीको अभियोग लगाएको देखि घटनाक्रम केलाउँदा उनको भनाई बदलिएको छ । अब अदालतमा उनी कसरी प्रस्तुत हुन्छिन् त्यसले मात्र फैसला प्रभावित हुन सक्दैन । उनले आरोप लगाएको भरमा घटना पुष्टि हुनसक्दैन । उनले आरोप फिर्ता लिएर महराको बचाऊ गर्दैमा पनि जर्बजस्ती नभएको पुष्टि हुन सक्दैन । यसकारण अब घटना बयानमा भन्दा दसी प्रमाणमा केन्द्रित हुनसक्छ ।

जर्बजस्तीको जाहेरी दिने रोशनीको स्वास्थ्य परीक्षण भएको छैन । यसकारण पनि घटनाको मुख्य प्रमाण मेटिइसकेको छ । जर्बजस्ती भए नभएको स्वास्थ्य परीक्षणबाट पनि प्रमाणित हुनसक्छ । अब त्यो बाँकी रहेन ।

घटनास्थलमा प्रहरीले के के प्रमाण फेला पार्यो त्यो खुलेको छैन । अब सबै अदालतमा प्रमाणका रुपमा पेश गर्नेछ । घटनास्थलमा भाँच्चिएको भनिएको चश्मा महराको हो होइन ? यदि हो भने भाँच्चिएको बाँकी टुक्रा कहाँ छ ? महराले चश्मा भाँच्चिएको भनेपनि चश्मा लगाएकै अवस्थामा पक्राउ परे । जुन उनलाई प्रहरीले पक्राउ गरी लाँदा समेत देखिन्थ्यो ।

रोशनीले आफूमाथि कुटपिट भएको भनेकी थिइन् । कुटपिट भएको भए त्यसको स्वास्थ्य परीक्षण भएको खोई ?

रोशनीले महराले रक्सी पिएको गिलास देखाएकी थिइन् । महराले रक्सी पिएको भए त्यसको फिंगर प्रिन्ट लिएको छ कि छैन ? छ भने त्यो महरासँग मिल्छ कि मिल्दैन ?

महरा रोशनीको कोठासम्म पुगेको भिडियो फुटेज नै प्रहरीसँग रहेको बुझिएको छ । त्यही फुटेल हेरेर प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष प्रचण्डले महरालाई राजीनामा दिन लगाएका थिए भन्ने खबर बाहिर आएको छ । फुटेजले महरा कोठासम्म पुगेको भन्ने देखाउँछ । त्यसैका आधारमा मात्र पनि जर्बजस्ती पुष्टि हुँदैन ।

जर्बजस्ती पुष्टि हुने धेरै प्रमाणहरु नष्ट गरिएका छन् या प्रमाण संकलन गर्ने तत्परता देखिएको छैन । यो घटनामा महरालाई पदबाट हटाउने र चारित्रिक रुपमा कमजोर सावित गर्ने लक्ष्य मात्र देखिनथालेको छ । उनको जर्बजस्ती अभियोग पुष्टि हुने दसी प्रमाणहरु संकलनमा उदासिनता देखिइसकेको घटनाक्रमले पुष्टि गरेको छ ।



प्रतिक्रिया दिनुहोस्