काठमाडौं, २९ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा सभामुख र उपसभामुखमध्ये एक पद छोड्नुपर्ने बताएका छन् । नेकपाले आज आयोजना गरेको चियापान तथा शुभकामना कार्यक्रममा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै नेता पौडेलले यस्तो माग गरेका हुन् ।
उनले मुलुक विधिको शासनमा अघि बढाउनुपर्नेमा जोड दिए । उनले भने,‘नेकपाले सभामुख र उपसभामुखमध्ये एउटा छोड्नुपर्छ । विधिको शासन हुनुपर्छ ।’ ता पौडेलले संवैधानिक व्यवस्था र संसदीय अभ्यासका आधारमा ती दुवै पद एकै दलले लिन नहुने र प्रतिपक्षीलाई एक पद दिइनुपर्ने बताएका हुन् ।
उनले भने, “यो मान्यताविपरीत निर्णय भएमा हामी मान्दैनौँ, सदन र सडकमा विरोध गर्छौं, सदनमा रहेका काङ्ग्रेस सांसदहरुले पनि लाछीपन देखाउनु हुँदैन ।” एक महिला कर्मचारीलाई बलात्कार प्रयासको आरोपपछि सभामुख पदबाट कृष्णबहादुर महराले राजीनामा दिएपछि हाल सो पद रिक्त छ ।