पर्सा, ३० असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन जना विरुद्ध मुद्धा दायर गरेको छ । श्रीसिया गा.वि.स.वडा नं. ५ बस्ने तत्कालीन गाविस सचिव विनोद साह गोढ लगाएत तीन जना विरुद्ध २९ असोजमा विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरेको हो ।
गोढले वडा नं. १ देखि ५ सम्म सडकमा माटो पुरी ग्रावेल सडक निर्माण गर्ने कार्यको लागि पेश्की उठाई काम नगरी सचिव र ओभरसियर बिन्देश्वर यादबसमेतलाई घुस दिएका थिए ।
आयोजनाका लागि उपभोक्ता समितिका अध्यक्ष गोढले सम्पूर्ण रूपैयाँ निजी कार्यमा प्रयोग गरी हिनामिना गरेकोले आवश्यक कारबाही गरी पाउँ भन्ने व्यहोराको उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा पेश्की लिई सम्झौता बमोजिम योजनाको कुनै पनि काम नगरेको खुल्न आएको छ ।
उनले पेश्की फछर्यौटका लागि आवश्यक कागज प्रमाण पेश नगरेको अवस्थामा उक्त पेश्की लिंदा गरेको कबुलियतनामाको शर्त विपरीत तत्कालीन गा.वि.स. सचिव सत्यदेव ठाकुर भन्ने सत्यदेव प्रसाद हजाम र गोढलाई अनधिकृत रूपमा बदनियतपूर्वक पेश्कीमाथि पेश्की दिई ४ लाख सरकारी रकम हिनामिना गराएको सप्रमाण पुष्टि भएको अख्तियारले जनाएको छ ।
उनीहरुलाई विगो ४ लाख असुलउपर हुन मागदावी सहित विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरिएको छ ।