काठमाडौं, १ कार्तिक । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले विपद् न्यूनीकरणका लागि तीनै तहका सरकारको उत्तिकै भूमिका रहेको बताएका छन् । शुक्रबार नेपाल भौगर्भिक समाजले आयोजना गरेको ‘विपद् न्यूनीकरणका लागि अन्तर्रा्ष्ट्रिय दिवस–२०७६ कार्यशाला गोष्ठी’मा उहाँले नेपाल विपद्को उच्च जोखिमको क्षेत्र भएकाले यसलाई न्यूनीकरण गर्न तीनै तहको सरकारको भूमिका रहेको बताएका हुन् ।
“विपद् न्यूनीकरणका लागि सरकारी तवरबाट कानूनी र नीतिगत व्यवस्था गरिएको छ, अब आउने विपद् न्यूनीकरण गर्न क्षमता र कौशलको विकास गर्नु जरुरी छ”, उनले भने । बढ्दो विश्व तापमानका कारण हिमालमा ह्रास आउनेक्रम बढेको उनको भनाइ थियो ।
गृहमन्त्री थापाले विपद्का कारण हुने क्षतिलाई न्यूनीकरण गर्न बलियो संरचना निर्माणमा ध्यान दिनु जरुरी रहेको उल्लेख गरे । विपद्को सामना गर्न सरकारी, गैरसरकारी निकाय एकताबद्ध हुनु जरुरी रहेको उनको भनाइ थियो । रासस
तस्विर/मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम