काठमाडौं, १ कार्तिक । राजपा नेपालका प्रतिनिधिसभाका सांसद प्रमोद कुमार साहले निजी विमान कम्पनीहरुले उडानमा ढिलाई गरे कसैलाई पनि नछोड्ने चेतावनी दिएका छन् । जनकपुर विमानस्थलमा बुद्ध एयरको काउन्टरमा तोडफोड गरेको आरोपमा साहलाई काठमाडौं विमानस्थलमा पक्राउ गरिएको थियो । अदालतको आदेशपछि साह आज रिहा भएका हुन् ।
रिहा भएलगत्तै रिपोर्टर्स नेपाल डटकमसँग कुरा गर्दै सांसद साहले निजी विमान कम्पनीहरुले मनोमानी गरिरहेको आरोप लगाए । उनले अब यात्रुलाई अनाहकमा सास्ती दिने विमान कम्पनीहरुलाई कुनैपनि हालतमा नछोड्ने चेतावनी दिए । साहले भने,‘जनकपुरमा मात्रै होईन, देशैभरि विमान कम्पनीहरुले दादागिरी देखाएका छन् । समयमा विमानले उडान नगर्ने, यात्रुहरुलाई घण्टौंसम्म कुराउने काम भएका छन् । मनोमानी रुपमा भाडा महँगो लिने गरेको पाईएको छ । अब हामीलाई सह्य हुँदैन् ।’
त्यस्तै, उनले मनोमानी गर्ने विमान कम्पनीहरुलाई कारबाहीको दायरामा ल्याउनको लागि आफूहरुले छुट्टै ऐन बनाउनेपनि घोषणा गरे । उनले भने,‘हामी छिट्टै छुट्टै विमान उडानसम्बन्धी ऐन बनाउँछौं । जनप्रतिनिधिलाई यस्तो व्यवहार गर्नेले अरु सर्वसाधरण जनतासँग कस्तो व्यवहार गरेको होला, तपाईहरु सहजै अनुमान लगाउन सक्नुहुन्छ ।’ उनले आफूहरु छिट्टै संघर्षका कार्यक्रमहरु कसरी अघि बढाउने भन्नेबारे छलफलमा जुट्ने र निश्कर्ष निकाल्नेपनि उनले जनाए ।