भगवानलाई नि तिमी भन्न सकिन्छ : शरदचन्द्र वस्ती
काठमाण्डौ । संचारमाध्यममा समाचार लेख्दा प्रयोग हुने भाषामा एकरुपता नभएको भन्दै बहस सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नै संञ्चारमाध्यमले प्रयोग गर्ने भाषामाथि प्रश्न उठाएपछि बहस चुलिएको हो । तर भाषाविद्हरुले भने समाचारमा प्रयोग हुने शब्दमा सबैलाई समान गर्नुपर्ने भएकाले विवाद गर्न नहुनेमा जोड दिएका छन् ।
कम्युनिष्ट पार्टीका नेता समेत रहेका प्रधानमन्त्री ओलीले मंगलबार एक कार्यक्रममा पत्रकारमा ‘शिष्टता, मर्यादा, नभएको भन्दै आक्रोष व्यक्त गरे । पत्रपत्रिकामा राष्ट्रपति, प्रधानमन्त्री आदिको समाचार आउँदा ‘तपाई’ ‘भन्नुभयो’ इत्यादि शब्दहरुको प्रयोग नभएकोतर्फ संकेत गर्दै प्रधानमन्त्री ओलीले सो असन्तुष्टि पोखेका हुन् ।
उनको भनाइको आशय सञ्चार माध्यमले ‘तिमी’ को सट्टा ‘तपाईरहजुर’ भनेर सम्बोधन गर्नुपर्छ भन्ने देखिन्छ । प्रधानमन्त्रीले यस विषयमा असन्तुष्टि जनाएको पहिलो पटक होईन । यसअघि पनि पटक–पटक उनले समाचार माध्यमले आफूहरुलाई कम्तिमा पनि तपाई भनिदिए हुन्थ्यो भन्ने आशय व्यक्त गरेका हुन् ।
तर प्रधानमन्त्रीले चाहेजस्तो उच्च सम्मान वा चाकडी समाचार माध्यहरुले गर्नु आवश्यक नरहेको बरिष्ठ पत्रकारहरुको तर्क छ । पत्रकारिता समाजको ऐना हो । सञ्चारमाध्यममा समाज त प्रतिविम्वित हुनुपर्छ ।
पत्रकारितामा एबीसी (एक्युरेट, ब्यालेन्स र क्रेडिबल) अनिवार्य मानिन्छ । यसैले राजतन्त्रमा जस्तो नभई गणतन्त्रमा सबै समान रहेकाले शासकदेखी सर्वसाधारणसम्मलाई एउटै कृयापद तिमी शव्द प्रयोग गर्दानै उपयुक्त हुने भाषाविद् तथा वरिष्ठ पत्रकारहरुको भनाई छ ।
वरिष्ठ पत्रकार तारानाथ दाहालले प्रधानमन्त्रीकै तहबाट पत्रकारिताको शैली र भाषाका बारेमा निर्देशित हुन नहुने बताएका छन् । संचारमाध्यमले आ–आफ्नै भाषाशैलीको प्रयोग गर्न पाउनुपर्ने दाहालको तर्क छ ।
“पहिलापहिला बक्स्योस, मौसुफ, हजुर जस्ता शब्दको प्रयोग गर्नुपर्ने बाध्यता थियो । अहिले गणतन्त्र छ । यो समयमा कसेको पनि आत्मसम्मानमा ठेस पुग्नु हुँदैन । तर तिमी भन्दा केही फरक पर्दैन । तिमी शब्द नराम्रो होइन ।”
दाहालको तर्क छ । तर यही शब्द प्रयोग गर्नुपर्छ भन्ने बाध्यता नहुने उनी बताउँछन् । यद्यपी प्रधानमन्त्रीले तिमी भनेको मन नपराउनु सामन्ती मानसिकताको अभिव्यक्ति भएको दाहालको ठोकुवा छ । प्रधानमन्त्रीले यस्ता कुरालाई प्रतिष्ठाको विषय बनाउन नहुने दाहालको टिप्पणी छ ।
भाषाको विषय बहसमा आउनु चाँही सकारात्मक पक्ष भएको दाहाल बताउँछन् । अहिलेसम्म पत्रकारले प्रयोग गर्ने भाषामा राजनीतिक निर्देशन आवश्यक नरहेको दाहालले बताए ।
पत्रकारितामा समाज भल्किन्छ, त्यसैले परिस्थिति अनुसार शब्द प्रयोग गनुपर्ने भाषाविद् शरदचन्द्र वस्तीको भनाई छ । औपचारिक रुपमा पनि तिमी भन्दा अन्यथा लिनु आवश्यक नरहेको वस्ती बताउँछन् ।
वस्ती भन्छन्–“तिमी भनेको अनुचित होइन, नराम्रो पनि होइन । सबैलाई समान देखियोस भनेर तिमी शब्द प्रयोग भएको हो ।” यद्यपी तपाई शब्द बहिष्कारै गर्नुपर्छ भन्ने अर्थको रुपमा नलिने वस्तीले आग्रह गरे ।
“श्रद्धा गरेर भगवानलाई पनि तिमी भनिन्छ । बाबु–आमालाई पनि तिमी भन्न सकिन्छ ।” उनले भने । औपचारिक रुपमै तिमी भन्दा अस्वीकार गर्न आवश्यक नरहेको वस्ती बताउँछन् ।
समाचारमाध्यममा मात्र होईन मुलुकमा गणतन्त्रसंगै सबै नागरिक समान मानिन्छन् । यसैले सञ्चार माध्यमले कसैलाई तिमी र कसैलाई तपाईं, हजुर भन्न नमिल्ने र चलनचल्तिमा रहेको तिमी कृयापदमा आपत्ति जनाउनु नपर्ने बताईन्छ । कसैले निर्णय गरेर अबदेखि तिमी कृयापद लेख्ने भनेको नभइ एकरुपता कायम गर्न यसो गरिएको हो । यो शैली स्थापित नै भइसकेको र एकरुपता कायम भएको विषयमा आपत्ति जनाउनु नपर्ने धेरैको मत छ ।