डोटी, २ कात्तिक : जिल्ला अस्पताल डोटीले पछिल्लो समय सेवाग्राहीको विश्वास जित्दै आएको छ । डोटी जिल्लाका मात्र नभएर जिल्लाभन्दा बाहिरका बिरामी पनि उपचारका लागि उक्त अस्पतालमा आउने गरेका छन् ।
अस्पतालले प्रसूति शल्यक्रियामा सुदूरपश्चिमको पहाडी जिल्लामा सेवाग्राहीको विश्वास जितेको अस्पताल प्रशासनको दाबी छ । छिमेकी जिल्ला अछाम, डडेल्धुरा र बाजुराबाट समेत शल्यक्रियाका लागि बिरामी आउने गरेको जिल्ला अस्पताल डोटीका डाक्टर गिरिष अवस्थीले बताए । उनले भने , “पछिल्लो समय हामीसँग उपकरण, चिकित्सक र औषधि उपलब्ध भएकाले हामीले सेवाग्राही बिरामीको रोग निको पार्न सफल भएका छौ , त्यसैले पनि बिरामीको सङ्ख्या थपिँदै गएको हो ।”
डडेल्धुराको उपक्षेत्रीय अस्पातलमा सम्भव नभएपछि अमरगढी नगरपालिका–८ की हमेन्ती ओझा केही समय पहिले जिल्ला अस्पताल डोटीमा आउनुभएको थियो । सुदूरपश्चिमको पहाडी जिल्लाको रिफरल हस्पिटलका रुपमा रहेको उपक्षेत्रीय अस्पातलमा नसकिएको प्रसूति डोटी अस्पतालमा सफल भएपछि उहाँ हालै घर फर्किनुभएको छ । चिकित्सक नभएका कारण उपचार सम्भव नभएको भन्दै उनले डोटी सिफारिश गरिएको थियो । उपचार सफल भएपछि अहिले जिल्ला अस्पतालमा बिरामीको भीड लाग्ने गरेको डा अवस्थीले दाबी गरे ।
उनले भने , “डडेल्धुराले डोटी पठायो, उपचार हुन्छ कि हुँदैन भन्ने चिन्तामा थियौँ, तर उपचार सफल भएको छ ।” ओझाको जिल्ला अस्पताल डोटीमा शल्यक्रियाबिना नै प्रसूतिको सफल उपचार भएको जिल्ला अस्पताल डोटीले जनाएको छ । जिल्ला अस्पताल डोटीमा एक वर्षमा ६८ को प्रसूति शल्यक्रिया सफल गरिएको अस्पतालका प्रमुख तथा डा भुषण मिश्रले जानकारी दिए । सहज तरिकाले बच्चा पाउन नसकेका महिलाको शल्यक्रियामार्फत बच्चा निकालिएको उहाँले बताउनुभयो । ३० महिलाले पहिलो बच्चा पाउँदा पनि शल्यक्रिया गरेको र उनिहरुको पुनः दास्रोपटक शल्यक्रिया गरिएको जिल्ला अस्पतालका डा गिरिष अवस्थीले जानकारी दिए ।