२ कात्तिक : उत्तरी सिरियामा टर्कीले जारी राखेको आक्रमण रोकेर पाँच दिनका लागि गरेको युद्धविरामको अवस्थाको अनुगमन गरिएको मानवअधिकारवादी संस्थाहरुले जनाएका छन् ।
सिरियाको उत्तरपूर्वी क्षेत्रमा गएको अक्टोबर ९ बाट शुरु भएको टर्कीको हवाई र स्थलगत आक्रमण केही दिनका लागि रोकिएको छ । अमेरिकाको आग्रहपछि टर्कीले पाँच दिनका लागि युद्धविराम गरेको जनाएको छ ।
त्यस युद्धविरामको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि स्वागत गर्नुभएको छ । उनले यो अस्थायी युद्धविराम भएपछि हालका लागि अमेरिकाले स्वागत गरेको बताए ।
सिरियाली द्धन्द्धको अनुगमन गरिरहेको मानवअधिकारवादी संस्था ‘सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स’ ले टर्कीले गरेको सो युद्धविरामको अनुगमन गरिएको जानकारी दिएको छ ।
केही दिन अघि टर्कीले गरेको युद्धविरामबाट वार्ताको र त्यस क्षेत्रमा जारी रहेको हिंसाको अन्त्यका लागि अर्को कुनै पनि वातावरण बनोस् भन्ने पक्षमा सो संस्थाले अनुमगन गरिरहेको जानकारी गराएको हो ।
टर्कीले सीमावर्ती सिरियाली भूभागमा भीषण सैन्य कारबाही थालेपछि टर्कीसँग वार्ता गर्न अमेरिकी उपराष्ट्रपति माइक पेन्स बिहीबार टर्की पुगेका थिए ।
उनले टर्कीका राष्ट्रपति रिसेप तायिप एर्डाेगानलाई उक्त आक्रमण तत्कालै रोक्न आग्रह गरेका थिए ।
सिरियाली कुर्द लडाकूहरुका विरुद्धमा जारी घातक आक्रमणलाई लिएर संयुक्त राष्ट्रसंघले पनि गम्भीर चासो व्यक्त गरेको छ । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले पनि त्यस आक्रमणप्रति चासो व्यक्त गरेको थियो । राष्ट्रसंघीय सुरक्षा परिषदको हालै बसेको बैठकमा सिरियाको उत्तरी क्षेत्रमा जारी आक्रमणबाट भएको क्षतिको छलफल भएको थियो ।
टर्कीले सिरियामा गरेको सो आक्रमणबाट करिब तीन लाख मानिस विस्थापित भएका अनुमान गरिएको छ । त्यसैगरी सो आक्रमणमा परी पाँच सयभन्दा बढी सर्वसाधारण मारिएका छन् ।मरिएका यी सर्वसाधारण प्रायः कुर्द समुदायका नागरिक नै भएको अधिकारवादीहरुले जानकारी दिएका छन् ।
अन्तर्राष्ट्रिय समुदायले उत्तरी सिरियामा टर्कीले गरेको यस आक्रमणका कारण मानवीय संकट पनि उत्पन्न हुनेतर्फ सम्बद्ध पक्षको ध्यानाकर्षण गराउँदै आएको छ ।
सिरिया वर्षाैँदेखि गृहयुद्धमा फसिरहेको छ । तर यहाँको युद्धको शान्तिपूर्ण र दिगो समाधानको बाटो भने अझै निस्किएको छैन ।
सन् २०११ को मार्च महिना सिरियाली राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै जनआन्दोलन शुरु भएको थियो । यस जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको थियो ।
सो गृहयुद्धमा अल कायदा र इस्लामिक स्ट्टेस जस्ता आतङ्ककारी समूह हाबी हुदै गयो । सो समयदेखि हालसम्म जारी यस युद्धमा परी करिब ४ लाख व्यक्तिको मृत्यु भईसेकेको छ । लाखौ व्यक्ति घाइते भएका छन् । त्यसगरी लाखौ व्यक्तिले आफ्नु घर छोडी स्वदेश र विदेशमा शरणार्थी जीवन विताउन बाध्य भएका छन् ।