काठमाडौं, ३ कात्तिक । सत्तारुढ नेकपाका सांसद पार्वत गुरुङ आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि आज जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका छन्। एक वर्षअघि काठमाडौं जिल्ला अदालतमा गुरुङविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा दर्ता भएको र अदालतले त्यतिबेलै पक्राउ पुर्जी जारी गरेको अदालतका स्रेस्तेदार आनन्द श्रेष्ठले जानकारी दिए।
गुरुङमाथि २०७४ को स्थानीय चुनाव लगत्तै दोलखाका वीरध्वज खड्कामाथि गौशालामा आक्रमण गरेको आरोप छ। खड्काले महानगरीय प्रहरी परिसर काठमाडौंमा ज्यान मार्ने उद्योगमा गुरुङविरुद्ध जाहेरी दिएका थिए।