Logo

गोर्खा सैनिक भएको दुई वर्षमै गमिलले पाए वीरगति (तस्बिरसहित)



रिपोर्टर्स नेपाल विशेष । गमिलकुमार श्रेष्ठ किशोरावस्थाको अन्तिम समयमा भारतीय गोर्खा सैनिकका रुपमा भर्ती भएका थिए । निकै मिहेनत गरी छानिएका उनी सुन्दर सपना बोकेर भारत पुगेका थिए ।

पाल्पाको रामपुर नगरपालिका ४ सताब्रत गाउँका स्थायी बासिन्दा गमिल लाहुरे बनेपछि शान बेग्लै थियो । गोर्खा सैनिकमा भर्ती हुनुलाई गाउँमा ठूलो सफलता मानिन्छ । त्यसैले उनी सफल युवामा गनिए ।

गोर्खा सैनिकका रुपमा तालिम पूरा गरी उनी काश्मिरमा खटिए । पाकिस्तानसँगको तनावका कारण काश्मिर सबैभन्दा खतरनाक क्षेत्र मानिन्छ । तर, गमिल जोसिला थिए । खटाएको ठाउँमा खुशीसाथ पुगे ।

अविवाहित थिए गामिल । घरमा बाबुआमासहित परिवार । देश र गाउँघर सम्झेर ठण्डी बढ्दै गरेको काश्मिरमा खटिएका थिए । भारतले काश्मिर मामलामा अगष्ट महिनामा कदम चालेपछि पाकिस्तानसँगको सीमा लाइन अफ कन्ट्रोलको सुरक्षा संवेदनशीलता झन् बढेको थियो ।


२ कात्तिकको साँझ सीमा क्षेत्रमा पाकिस्तानका तर्फबाट गोलीबारी भयो । घुसपैठीको सामना गर्ने क्रममा गमिलसहित पदमबहादुर श्रेष्ठले वीरगति प्राप्त गरे ।

ग्मिल र पदमबहादुर श्रेष्ठको पार्थिव शरीरलाई काश्मिरमा भारतीय सेनाको टुकडीले सलामी दियो । त्यहाँबाट विमानबाट दिल्ली लगियो । उनीहरुको अन्तिम संस्कार बनारसमा गर्ने बुझिएको छ । परिवारका सदस्य बनारस पुगिसकेका छन् ।

तस्बिर स्रोत: भारतीय सेना



प्रतिक्रिया दिनुहोस्