रौतहट, ५ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साविक हथियाही गाविसका कार्यालय सहायक एवं हाल कटहरिया नगरपालिका वडा नम्बर ८ का वडा सचिव कदिरवावु देवान विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरेको छ । अख्तियारले ४ कात्तिकमा मुद्धा दायर गरेको हो ।
जिल्लाको विभिन्न गाविसहरूमा अर्धसरकारी अनुदान रकम तथा सामाजिक सुरक्षा भत्ता, स्थानीय पूर्वाधार विकास निर्माणको रकम दुरुपयोग गरी भ्रष्टाचार र अनियमितता भएकोले सम्बन्धित पदाधिकारी एवं कर्मचारी उपर उजुरीका आधारमा उनी विरुद्ध मुद्धा दायर गरिएको अख्तियारले जनाएको छ ।
देवानले साविक हथियाही गाविसको चालु तथा पुँजीगत खर्च जथाभावि खर्च लेखी, भ्रमण खर्च, पेश्की लिई फछर्यौट नगरी, सामाजिक सुरक्षा भत्ताको रकम आफैंले बुझिलिई बाह्र लाख छपन्न हजार दुई सय पचहत्तर रूपैंया बराबरको सार्वजनिक सम्पत्तीको हिनामिना, हानिनोक्सानी दुरुपयोग गरेको प्रमाणका आधारमा देवानलाई विगो बाह्र लाख छपन्न हजार दुई सय पचहत्तर रूपैंया मागदावी लिई मुद्धा दायर गरिएको अख्तियारले बताएको छ ।