काठमाडौं, ६ कात्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवास नेम्वाङले राजनीतिज्ञमा प्रष्ट वैचारिक दृष्टिकोण, सामाजिक आदर्श र निष्ठाको खाँचो रहेको बताएका छन् ।
चन्द्रबहादुर गुरुङ स्मृति अध्ययन प्रतिष्ठानले चन्द्रबहादुर गुरुङको चौंथो स्मृतिसभामा बुधबार आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
नेता नेम्वाङले तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका महामन्त्री गुरुङले संविधानसभामा फरक मत राखेर पनि संविधान निर्माणमा सहयोग गरेको बताए ।
पहिलो संविधानसभामा उक्त पार्टीको नेतृत्व गरेका गुरुङले धर्मलगायत विषयमा फरक मत प्रकट गरेर पनि बहुमतलाई सम्मान गर्दै देशमा राजनीतिक स्थिरताको वातावरण तयार गर्न भूमिका निर्वाह गरेको पूर्व सभामुख नेम्वाङको भनाइ थियो ।