Logo

यस कारण तिहारमा कुकुर पूजिन्छ



कुकुर तिहार यमपञ्चकको दोस्रो दिन अर्थात् कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरतिहार मनाइन्छ । जसका सम्बन्धमा विभिन्न धार्मिक एवं सामाजिक मान्यता रहँदै आएको छ । यो दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । कुकुरलाई पनि यमदूतका रूपमा लिइन्छ । कुकुर यमराजको अर्को प्रियभक्त हो ।

कुकुरलाई आज्ञापालक एवं रक्षक मात्र मानिँदैन, विभिन्न अपराध गर्ने अपराधीहरू पत्ता लगाउने, अध्ययन अनुसन्धान गर्ने कार्य पनि कुकुरले गर्छ । कुकुरले घरको रेखदेख तथा चोर डाँकाबाट बचाउने कार्य गरी मानिसलाई सहयोग गर्दै आएको छ । त्यसैगरी कुनै प्राकृतिक प्रकोप तथा दैवी विपत्ती हुने बेलामा पूर्वसूचना समेत दिन्छ । कुकुरलाई भैरवको बाहन पनि भनिन्छ । त्यसैले हामी कुकुर तिहारमा कुकुरलाई मन पर्ने खाना ख्वाई पूजा गरी माला लगाइदिन्छौं ।

वैवस्वत मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक विश्वास छ । घरमा कुकुर पाल्नाले रोग व्याधले समेत नसताउने मान्यता रहिआएको जनविश्वास छ ।

कुकुर तिहारको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । यो दिन मासको पात खाने चलन छ । लिङ्ग पुराणअनुसार यो दिन मासको पातको साग खाए मानिसका पाप नाश हुन्छन् । यो दिन नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदीप दक्षिण फर्काएर बगाउनाले मृत्युपश्चात् नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वासका साथ नदी नाला तलाउमा नुहाउने गरिन्छ । नर्के नुहाइसकेपछि दीपदान गर्नुका साथै तथा तिलको बोट बालेर आगो तापिन्छ । यसो गर्दा नरकमा जानु पर्दैन भन्ने मान्यता छ ।

यमपञ्चक लागेपछि भगवान् सूर्यका पुत्र एवं मृत्युका देवता यमराज यमलोकबाट बहिनी यमुनाको घर मर्त्यलोकमा आएर यमपञ्चकभरि विराजमान भई भाइटीका लगाएपछि यमलोक फर्कने पौराणिक आख्यान रहेको छ ।

पौराणिक प्रसंगअनुसार यमलोकमा यमराजको द्वारपालका रूपमा रहने कुकुरलाई आजको दिनमा पूजा गर्नाले मृत्युपश्चात् यमद्वारबाट मार्गप्रशस्त गरी स्वर्ग जाने बाटो देखाइदिने विश्वास छ । द्वापरयुगको अन्त्यमा पाण्डवहरू स्वर्ग जाने क्रममा चार भाइ र द्रौपदीको बाटैमा देहावसान भएको र धर्मराज युधिष्ठिरलाई कुकुरले स्वर्गको ढोकासम्म पुर्याएको इतिहास आजसम्म पनि रहीआएको छ ।



प्रतिक्रिया दिनुहोस्