Logo

 मदरसा बन्द हुने अवस्थामा



वीरेन्द्रनगर, ७ कात्तिक : सरकारले दिँदै आएको अनुदान कटौती भएपछि सुर्खेतको मदरसा मदिना विद्यालय सङ्कटमा परेको छ । माध्यमिक तहसम्म सञ्चालनमा रहेको मुस्लिम समुदायको धार्मिक विद्यालय आर्थिक सङ्कटको चपेटामा परेको छ ।

आर्थिक अभावका कारण वीरेन्द्रनगर १० बेलघारीमा रहेको मुस्लिम समुदायको विद्यालयको अवस्था अहिले दयनीय अवस्थामा छ । तेह्र वर्ष अघिदेखि सञ्चालनमा आएको मदिना स्कूल चन्दा र अनुदानको भरमा चलिरहेको छ । झण्डै ९८ प्रतिशत मुस्लिम समुदायका बालबालिका अध्ययनरत उक्त विद्यालयमा उर्दु, अरबी, अङ्ग्रेजी र नेपाली भाषामा अध्ययन अध्यापन हुँदै आइरहेको छ ।

आवश्यक दरबन्दी, भाषागत शिक्षक नहुँदा र सरकारले दिँदै आएको अनुदान रकम कटौती भएपछि मदरसा विद्यालय बन्द हुने अवस्थामा पुगेको छ । विद्यालयका २० जना कर्मचारीमध्ये नौ जनालाई सरकारी अनुदानको रकमबाट र अन्य कर्मचारीलाई रमजान पर्वको अवसरमा चन्दा उठाएर तलब खुवाउने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अहम्मद रज्जाले बताए ।

“मदरसा सञ्चालनमा कठिनाइ भएपछि आधुनिक शिक्षामा समायोजन गरी सञ्चालन गर्दा सरकारले अनुदान र शिक्षक दरबन्दी दिने भनिएपनि आवश्यक शैक्षिक सहयोग पाएका छैनौ ”, उनले भने , “आर्थिक अभावले विद्यालय चलाउनै समस्या परेको छ ।”

प्राथमिक र निम्नमाध्यमिक विद्यालय मात्रै सञ्चालन गर्दा मुस्लिम समुदायका विद्यार्थीले पढाइ छोड्ने भएपछि माध्यमिक तहसम्म सञ्चालन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रज्जाले बताए । माध्यमिक तहसम्म सञ्चालन गर्दा भौतिक पूर्वाधार तथा शिक्षकको अभावमा विद्यालय सञ्चालन गर्न सकस भएको उनको भनाइ छ । सरकारले दिँदै आएको अनुदान पनि कम हुँदै जानुले थप समस्या परेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रज्जाले बताए ।

नेपाल सरकारले दिँदै आएको अनुदान रकम कटौती भएपछि विद्यालय सञ्चालनमा कठिनाइ भएको नगर शिक्षाका उपसचिव ललितबिक्रम सिंहले बताए । “सुर्खेतमा दुई वटा मदरसा सञ्चालन हुँदै आएका छन्’ उनले भने , त्यसमध्ये फैजुल प्राथमिक विद्यालय वीरेन्द्रनगरमा कुनै पनि शिक्षक दरबन्दी र अनुदान छैन भने मदिना माध्यमिक विद्यालय बेलघारीमा साढे पाँच लाख अनुदान रकम आएको छ ।”

नगर शिक्षा उपसचिव सिंहका अनुसार माध्यमिक विद्यालय र प्राथमिक विद्यालय सञ्चालन भएका मदरसामा आवश्यक अनुदान र शिक्षकको दरबन्दी नहुँदा विद्यालय सञ्चालनमा कठिनाइ भएको छ ।



प्रतिक्रिया दिनुहोस्