फेनी बङ्गलादेश, ७ काात्तिक : बङ्गलादेशको एक अदालतले १६ जनालाई बिहीबार मृत्युदण्डको सजाय सुनाएको छ ।उनीहरुलाई एक छात्रा जीवितै जलाएको अभियोगमा दोषी ठहर गरिएको थियो । गत अप्रिल महिनामा फेनी नगरमा १९ वर्षीया नुसरत जहान रफीको जलाएर हत्या गरिएको थियो ।
नुसरतले एक शिक्षकले आफूलाई यौन दुरव्यवहार गरेको आरोपमा मुद्दा दायर गरेकी थिइन् । सो मुद्दा फिर्ता लिन अस्विकार गरेपछि उनको जलाएर हत्या गरिएको बताइएको छ ।‘यस फैसलाले बङ्गलादेशमा हत्याबाट कोही पनि उम्कन सक्दैन भन्ने प्रमाणित गर्दछ । न्यायाधीस हाफिज अहमदले भन्नुभएको छ । ‘हाम्रो देशमा कानुनको शासन छ’ उहाँले पत्रकारलाई बताएको छ ।
सो हत्यामा प्रधानाध्यापक बाहेक उनका दुई सहपाठी छात्राको पनि संलग्नता भएको अदालतले ठहर गरेको छ । नुसरत मृत्युको घटनाले बङ्लादेशलाई स्तब्ध बनाएको थियो । त्यसपछि उनको न्यायको माग गर्दै शृखला वद्धरुपमा प्रदर्शन भइरहेका थिए ।यस्ता खालका मुद्दाको टुङ्गो लाग्न वर्षौँ लाग्ने गरेको बङ्लादेशमा नुसरतको मुद्दा अदालतले निकै छोटो समयभित्रै फैसला गरेको समाचारमा जनाइएको छ । न्यायाधीस अहमदले समाचारदातासँग अदालतको यो फैसलापछि बङ्गलादेशमा हत्या गरी सहजै उम्किन नसक्ने तथ्यलाई प्रमाणित गरिदिएको बताएको छ ।
नुसरतले आफ्ना प्रधानाध्यापक सिरज उद दउलाले आफूलाई बारम्बार अनुचित तरिकाले छोएको भन्दै प्रहरीलाई उजुरी दिएकी थिइन् । त्यसको ११ दिनपछि गत अप्रिल ६ मा उनलाई विद्यालयको छानामा बोलाएर बुर्का लगाएका चारपाँच जनाले घेरेर उजुरी फिर्ता लिन दबाव दिएका थिए ।उजुरी फिर्ता लिन अस्वीकार गरेपछि उनलाई जीवितै जलाइएको थियो । उनले आत्महत्या गरेको जस्तो देखाउन खोजिएको भए पनि पछि हत्या प्रमाणित भएको छ ।
प्रहरीले उनको उद्धार गरेको र उनले घटनाको विषयमा दिएको बयान उनका भाइले मोबाइल फोनमा रेकर्ड गरेका थिए ।बयानको क्रममा नै नुसरतले केही आक्रमणकारीको नाम बताएकी थिइन् । शिक्षकले आफूलाई छोएको, सो अपराध विरुद्ध सास रहुञ्जेलसम्म लडिरहने बताएकी थिइन् । शरीरका ८० प्रतिशत भाग जलेका कारण उनको चार दिनपछि मृत्यु भएको थियो ।