Logo

अठारौँ ‘नाम’ सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली बाकुमा



काठमाडौं, कार्तिक ८ । प्रधानमन्त्री केपी शर्मा ओली असंलग्न आन्दोलन ‘नाम’ राष्ट्रहरूका राष्ट्राध्यक्ष एवम् सरकार प्रमुखहरूको १८औँ शिखर सम्मेलनमा सहभागी हुन बाँकु पुगेका छन्।

आजबाट शुरु हुन गइरहेको दुईदिने सम्मेलनमा प्रधानमन्त्री ओलीले २१ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गरेका छन्। प्रधानमन्त्री ओलीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य पनि रहेकी छन् ।

बाकुस्थित हेयदार अलियेभ अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओली र प्रतिनिधिमण्डलका सदस्यहरुलाई अजरबैजानका उपप्रधानमन्त्री अली अहमादोभ, उपविदेश मन्त्री नादीर हुसेनोभ, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृत राई र अन्य वरिष्ठ अधिकृतहरुले स्वागत गरेका थिए ।

सम्मेलनमा सहभागी हुने प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई, परराष्ट्र सचिव शङ्करदास वैरागी र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रीस्तरीय पूर्वतयारी बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री ज्ञवाली यसअघि नै त्यहाँ पुगिसकेका थिए । प्रधानमन्त्री ओलीले शुक्रबार ‘नाम’ शिखर सम्मेलनअन्तर्गत ‘समसामयिक विश्वका चुनौतीहरूलाई एकीकृत तथा पर्याप्त मात्रामा सम्बोधन गरिएको सुनिश्चित गर्नका लागि बाङडुङ सिद्धान्तको अनुपालन’ विषयमा बाकु सम्मेलन केन्द्रमा हुने शिखर सम्मेलनको पूर्ण सत्रलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । रासस



प्रतिक्रिया दिनुहोस्