काठमाडौं, ८ कात्तिक । सामूहिक हत्याको अभियोग लागेका नेपाली काँग्रेसका सांसद मोहम्मद अफताब आलममाथि प्रहरीले अनुसन्धान पूरा हुन कम्तिमा एक हप्ता लाग्ने भएको छ । जिल्ला अदालत रौतहटले आठ दिन म्याद थपका लागि अनुमति दिएपछि अफताबको अबको एक हप्ता हिरासतमै बित्ने भएको हो ।
अफताबमाथि १२ वर्ष अघि ईँट्टाभट्टामा जिउँदै मानिसहरुलाई हालेर हत्या गरेको अभियोग लागेको छ । २०६४ सालको संविधानसभा चुनावमा अफताबको घर नजिकै टहरामा बम बिष्फोट हुँदा घटना लुकाउन घाइतेलाई जिउँदै ईंट्टा भट्टामा हालिएको विषय उठेको छ ।
अफताबले घटना नै नभएको दाबी गर्दै आएका छन् । तर, प्रहरीले घटना घटेको प्रमाण जुटाएको बुझिएको छ । प्रमाण संकलन गरेपछि मुद्दा दायर हुनेछ । २५ दिनभित्र अनुसन्धान पूरा गरिसक्नुपर्ने भएकाले कात्तिक महिनाभित्र अफताब पुर्पक्षका लागि थुनामा रहने या धरौटीमा रिहा हुने टुंगो लाग्नेछ ।
यसैगरी, काँग्रेसका सांसद मोहम्मद अफताब आलमलाई पक्राउ गर्न प्रहरी मुख्यालयबाट विशेष टोली रौतहट पुगेको खुलेकाले यसमा उच्च तहबाटै चासो लिइएको बुझिएको छ । अदालतको कारबाही चलाउने आदेशसहितको कागजात र पक्राउ पूर्जी बोकेर टोली रौतहट पुगेको थियो । माथिल्ला तहबाट निर्देशनसहित प्रहरीले पक्राउ गरेकाले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले १२ वर्ष अघि के हेरेर बसेको भनी प्रश्न गरेका थिए ।