दमौली, ८ कात्तिक : नेत्रविक्रम चन्द समूहका तीन कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय तनहुँले नियन्त्रणमा लिएको छ । नियन्त्रण पर्नेमा चन्द समूहको पार्टीका स्याङ्जा जिल्ला सेक्रेटरी गोकुल पराजुली, जिल्ला सदस्यद्वय सागर अर्याल र जीवन क्षेत्री रहेका छन् ।
जिल्ला प्रशासन कार्यालय तनहुँको आदेशमा धरौटी बुझाएर रिहा भएलगत्तै उनीहरुलाई प्रहरीले प्रशासन कार्यालयको परिसरबाट बिहीबार नियन्त्रण गरेको हो । प्रशासन कार्यालयले उनीहरुलाई जनही रु एक हजार धरौटी बुझाएर तारेखमा रिहा गर्ने आदेश दिएको थियो ।
उनीहरुको विरुद्धमा जिल्ला प्रहरी कार्यालय लमजुङमा अर्काे मुद्दा भएका कारण प्रहरी कार्यालय लमजुङको पत्राचारअनुसार पुनः पक्राउ गरी लमजुङ पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए ।
अभद्र व्यवहारको मुद्दामा उनीहरु गत असोज १५ गतेदेखि जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा रहेका थिए । यसअघि उनीहरुलाई असोज १५ गते जिल्ला प्रशासन कार्यालय कास्कीको आदेशमा रिहा भएलगत्तै पुनःनियन्त्रण गरी तनहुँ ल्याइएको थियो ।