Logo

भक्तपुरमा माटोको पाला बनाउन भ्याइनभ्याई



काठमाण्डौ । तिहार नजिकिँदै गर्दा भक्तपुरका प्रजापति समुदायलाई माटाका भाँडा बनाउन भ्याइनभ्याई छ । व्यवसायीहरुका अनुसार तिहारको समयमा माटोको पालाको माग अत्याधिक हुने गरेको छ । दिपावलीको अवसरमा मैन बाल्ने प्रचलन व्यापक भएपनि विगतका केहि वर्ष यता माटोको पालामा मैन भरेको पाला बाल्ने क्रममा बढेको छ ।

नेपालीको घर आँगनमा दशैंपछिको दोस्रो ठूलो चाड तिहार भित्रिसकेको छ । तिहार लक्षित झिलिमिली बजारले आकर्षण बढाइरहेको छ । विगत केही सातादेखि भक्तपुरका प्रजापति पोट्री स्वायरमा माटाका पाला बनाउन व्यवसायीहरु व्यस्त छन् । तिहारको समय माटाका माग अनुसार पाला बनाउन यतीबेला भक्तपुरका व्यवसायीहरुलाई भ्याइ नभ्याइ छ ।

माटाका पाला बनाउने व्यवसायीलाई खाना खाने समेत फुर्सद छैन । तिहारको लागि अहिलेसम्म ५० हजार देखि ६० हजारको संख्यामा माटोका पाला बनाई सकेको एक व्यवसायी बताउँछन् । माटाका भाडा बनाउने कसैलाई पनि एकछिन बसेर बोल्नेसमेत फुर्सद छैन ।

पुरुषहरु गिलोमाटोलाई आकार दिनमा ब्यस्त छन् । महिलाहरु सुकाउने, रंग लगाउने, भट्टीमा पोल्नका लागि माटाका भाडा ओसार्ने चटारोमा छन् । माटोका पाला गोटाको २० देखि ३० रुपैयाँसम्म बिक्री हुन्छ । काँचो माटोबाट बनेका पालालाई २– ३ दिन घाममा सुकाउनु पर्छ । पाला बनाईसकेपछि आगोमा पोली तयार गरिन्छ । घाममा सुकाउने र आगोमा पोल्ने काम गर्न ५ दिन लाग्ने व्यवसायी बताउँछन् ।

तिहारका लागि पाला, भिउँटे, धुपौरोलगायतका माटोका सामग्रीहरुको माग उच्च हुने गरेको छ । माग बढ्ने बेलामा बढी नै उत्पादन गर्नुपर्ने रहेको छ । माटाको भाँडा बनाउनु कुमाले समुदायको पुख्र्यौली पेसा हो । उनीहरूले अहिले विभिन्न आकार र ढाँचाका पाला बनाइरहेका छन् । तिहारमा घरभित्र र बाहिर बत्ती बालेमा लक्ष्मी प्रवेश गर्ने धार्मिक विश्वास छ ।

त्यसैले राजधानीलगायत देशका विभिन्न ठाउँमा तिहारका बेला माटोका पाला धेरै खपत हुन्छ । उज्यालो भएको घरमा मात्रै लक्ष्मीको बास हुने धार्मिक आस्थाका कारण बत्तीले झिलिमिली पारी घर सजाउने प्रचलन रहको छ ।



प्रतिक्रिया दिनुहोस्