Logo

प्रधानमन्त्री ओलीले भेटे भेनेजुयलाका राष्ट्रपति मदुरो



विशेष प्रतिनिधि मनोज कार्की : बाकु (अजरबैजान), ८ कात्तिक : प्रधानमन्त्री केपी शर्मा ओलीले भेनेजुयलाका राष्टपति निकोलस मदुरोसँग भेटवार्ता गरेका छन् । असंलग्न आन्दोलन (नाम)को यहाँ जारी १८औँ शिखर सम्मेलनका क्रममा प्रधानमन्त्री ओलीले भेनेजुयलाका राष्ट्रपति तथा नामका निवर्तमान अध्यक्ष निकोलस मदुरोसँग् आज बाकु कन्भेन्शन सेण्टरमा भेटवार्ता भएको छ ।

सो अवसरमा प्रधानमन्त्री ओलीले तीन वर्षसम्म नामलाई सफलतापूर्वक नेतृत्व प्रदान गर्नुभएकामा राष्ट्रपति मदुरोलाई धन्यवाद दिए । उनीहरुबीच आपसी चासोका विषयमा पनि छलफल भएको थियो । शिखर सम्मेलनमा भारतको नेतृत्व गरेका भारतीय उपराष्ट्रपति भेन्कैया नायडु र प्रधानमन्त्री ओलीबीच पनि आजै भेटवार्ता भयो ।

सो अवसरमा उनीहरुबीच द्विपक्षीय हित र नामका विविध पक्षमा छलफल भयो । यसैबीच परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग आज केन्याका उपविदेशमन्त्री अबाबु नामवाम्बाले नाम शिखर सम्मेलनका क्रममा भेट गरेका थिए ।

नाम सम्मेलन आजै राजधानी बाकुको बाकु कन्भेन्शन सेन्टरको अडिटोरियममा शुरु भएको हो । सम्मेलनका आजै उद्घाटन, नामका नयाँ अध्यक्षको निर्वाचन र बाङड्ुङ सिद्धान्तको पालना विषयमा मन्तव्य व्यक्त गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्