काठमाडौं, १२ कात्तिक । नेपाली नागरिक निर्मल पू्र्जाले विश्वकिर्तिमान कायम गरेका छन् । उनले मंगलबार चीनको अग्लो चुचुरो सिसापाङ्ग्माको शिखर चुमेसँगै सात महिनाभित्र विश्वका १४ वटा आठ हजार मिटर अग्ला चुचुरो टेकेर किर्तिमान कायम गरेका हुन् ।
पू्र्जाले ट्वीट गर्दै मंगलबार शिखर चुम्ने लेखेका थिए । उनले शिखर चुमिसकेका छन् । पूर्व ब्रिटिश गोर्खा सैनिक पूर्जाले २३ अप्रिलमा अन्नपूर्ण हिमाल चढेर आठ हजार मिटर अग्ला हिमाल चढ्न शुरु गरेकोमा २९ अक्टोबरमा सिसापाङ्ग्मा चढेर किर्तिमान बनाएका हुन् ।
यसअघि सात वर्ष ११ महिना १४ दिनमा १४ अग्ला हिमाल चढेर पोल्यान्डका आरोही जेरजी कुकुजाले सन् १९८७ मा विश्वकिर्तिमान राखेका थिए । त्यसपछि दक्षिण कोरियाली नागरिक किम चाङ होले सात वर्ष १० महिना छ दिनमा १४ हिमाल चढे ।
पूर्जा अन्नपूर्ण, धौलागिरी, कञ्चनजंघा, सगरमाथा, लोत्से, मकालु, नांगा पर्वत, गसेरब्रुम १, गसेरब्रुम २, के टु, ब्रोड पिक, चोयु, मनास्लु र सिसापाङ्ग्मा हिमालको चुचुरोमा पुगेका थिए । जसमध्ये सातवटा नेपाल, पाँचवटा पाकिस्तान र दुई चीनका हिमाल हुन् ।
Photo Source: Twitter Page of Nirmal Purja