Logo

छठ पर्वको मुख्य विधि शुरू हुँदै



– हिमांशु चौधरी

मानव सभ्यता बोधक, प्रकृतिप्रति कृतज्ञता र आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ पर्वको मुख्य विधि बिहीबारदेखि शुरू हुँदैछ । मुख्य विधिअन्तर्गत पहिलो दिन चतुर्थीको विधिमा अरबा–अरबाइन गरिन्छ, जसलाई नहाय–खाय पनि भन्ने गरिएको छ ।

दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिने विधि गरिन्छ । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो, जसमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा गरिन्छ ।

मानव सभ्यताको विकास नदी किनार हुँदै भएको, पञ्चतत्वमध्ये सूर्य र जल अपरिहार्य तत्व रहेकाले यी दुई तत्वहरूप्रति श्रद्धाभाव व्यक्त तथा जीवन, जगत्, प्रकृति, वनस्पति, ग्रह, नक्षत्र, संवत्सर, समय, काल सबैका कारक रहेका सूर्यको आराधनाले आपसी सद्भाव, एकता र सहिष्णुताको सन्देश यस पर्वमा सन्निहित रहेको छ ।

छठको पहिलो दिन चतुर्थी व्रतीले भोजनमा माछामासु, लसुन, प्याज, कोदो, मसुर वस्तु परित्याग गरी यसै दिनदेखि व्रत बस्न थाल्छन् । पर्वको दोस्रो दिन पञ्चमी खरना गरिन्छ, जसलाई पापको क्षय पनि भनिन्छ ।

गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरी व्रती उक्त दिन दिनभरि निर्जला व्रत बस्छन् र राति चन्द्रोदयपछि चन्द्रमालाई पायस खीर अर्पण सोही प्रसाद गर्छन् । यस दिनपछि व्रतीले पूर्ण लिनुपर्दछ ।

तेस्रो दिन षष्ठी गहुँ र चामल ओखल, जाँतो वा ढिकीमा कुटान–पिसान गरी सोबाट विभिन्न गुलियो खाद्य सामग्री बनाइन्छ । सोही दिन अन्नबाहेक फलफूल, ठकुआ, भुसवा, खजुरी, पेरूकिया तथा मूला गाँजर, बेसारको गाँठो, ज्यामिर, नरिवल, सुन्तला, केरा, नाङ्गलो, कोनिया, सरबा, ढाकन, माटोको हात्ती ठूलो ढक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवम लोकगीत गाउँदै निर्धारित जलाशयसम्म पुग्ने गर्छन् ।रासस



प्रतिक्रिया दिनुहोस्